रोशी सहकर्मी–मंसिर ०१,
बनेपा/

सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित भएको छ । सरकारले तेहेरो कर लिएको तथा वन महासंघ बिरुद्ध विभिन्न ऐन ल्याएको भन्दै सामुदायिक वन महासंघ आन्दोलित भएको हो ।
यसैक्रममा आज सामुदायिक वन उपभोक्ता महासंघ काभे्रले कर खारेजीको माग गर्दै बिरोध ¥याली प्रर्दशन गरेको छ । बनेपा नगरपालिकाको तीनदोबाटोमा जम्मा भएर सुरु भएको बिरोध ¥याली चारदोबाटो, गोदामचोक हुँदै बनेपा बसपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठक, महासचिव बिर्खबहादुर शाही, सचिव ठाकुर भण्डारी, प्रदेश न ३ का अध्यक्ष बिनोद सापकोटा, काभे्र जिल्ला इन्चार्ज शान्ता न्यौपाने लगायतले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले स्थानीय, प्रदेश र संघ सरकारले लिइरहेको तेहेरो कर खारेज नभए देशभर आन्दोलनको चर्काउने चेतावनी दिनुभयो । मुलुकभर २२ हजार २६६ सामुदायिक वन उपभोक्ता समूह रहेको र त्यसमा रहेका २९ लाख उपभोक्ता सहित आन्दोलनमा आउने वातारण सरकारले निर्माण नगर्न उनीहरुले आग्रह गरेका छन ।

Facebook Comments