माघ ६,
२०७७,काभ्रे/

धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, रोसी र भुम्लु गाउँपालिकामा लागू भएको सुरक्षित आप्रवासन परियोजना (सामी)को अर्धबार्षिक समिक्षा कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ । आज धुलिखेलमा भएको समिक्षा कार्यक्रम पालिका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

यस आर्थिक बर्षको साउन देखी पुस सम्म चार वटै पालिकामा परियोजनाले गरेको कामको प्रगती परियोजनाका जिल्ला संयोजक बसन्त कुँवरले जानकारी गराएका थिए । बैदेशिक रोजगारीमा गएका नेपाली कामदार र तिनका परिवारहरुलाई सीपयुक्त जनशक्तिको विकास, सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तिय साक्षरता कार्यक्रम परियोजना मार्फत जिल्लाका चार स्थानीय तहमा सञ्चालन भइरहेको उनले जानकारी दिए ।

परियोजनाले गरेको अर्धबार्षिक कार्यक्रमको समिक्षा कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइवा, काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, धुलिखेल नगरपालिकाका कार्यवाह नगरप्रमुख विमला शर्मा चौँलागाई, जिल्ला समन्वय अधिकारी केशवप्रसाद निरौला लगायतले परियोजनामा गर्नुपर्ने सुधारका बारेमा सुझाव दिनुभएको थियो ।

उक्त समिक्षा कार्यक्रममा रोशी गाउँपालिका उपप्रमुख लक्ष्मी बतौला, प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल, मण्डनदेउपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख भुपेन्द्रबहादुर खत्री, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना लगायतको उपस्थिती रहेको थियो । उक्त परियोजना स्वीजरल्याण्ड र नेपाल सरकार बीच भएको सम्झौता अनुसार तेश्रो चरणमा ३९ वटा जिल्लाका एक सय ५६ वटा स्थानीय तहमा कार्यक्रम लागु भएको छ ।

Facebook Comments Box