माघ २५,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा ३ हजार ४ सय ९४ जनाले कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप लगाएका छन् । स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार धुलिखेल र मेथिनकोट अस्पताल गरी दुई खोप केन्द्र मार्फत ३ हजार ४ सय ९४ जनाले खोप लगाएका हुन् । विभिन्न जिल्लामा अनुमानिय व्यक्तिले खोप नलिएको पाईए पनि काभ्रे जिल्लामा भने अनुमानिय प्राय सबैले खोप लगाएका छन् । स्वास्थ्य कार्यलय काभ्रेले खोपको लागि तीन हजार ५८१ जनाको नामावली तयार पारेको थियो । केहि बाहेक सोहि अनुपातमा नै खोप लगाईएको डा. झाले बताए ।

सरकारले अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकहरु तथा महिला स्वास्थ्य स्वंयसेविकाहरु, फोहोर ब्यवस्थापनमा संलग्न संकलक तथा चालकहरुलाई पहिलो प्राथमिकतामा राखी पहिलो चरणमा खोप दिने निर्णय गरेको थियो । हाल पहिलो डोज लगाएका ब्यक्तीहरुलाई चार हप्ता पछि दोस्रो डोज दिईने प्रमुख डा. झाले जानकार दिए । उनले दोस्रो चरणमा भने सरकारले नियमित औषधि सेवन गर्ने, मुटु आदिका दिर्घरोगीहरुलाई खोप दिने योजना बनाए अनुरुपको खोप लगाउने बताए ।

धुलिखेल अस्पतालबाट बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर नगरपालिका, भुम्लु, चौँरीदेउराली, बेथानचोक र खानीखोला गाउँपालिकामा फ्रन्टलाइनमा काम गर्नेले खोप लगाएका छन् भने मेथिनकोट अस्पतालमा नमोबुद्ध नगरपालिका, रोशी, तेमाल र महाभारत गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका लगायतले खोप लगाएका छन् ।

Facebook Comments