फागुन ११,
२०७७,काभ्रे/

बनेपा नगरपालिकाको सातौ नगर सभा मंगलबार नगर प्रमुख लक्ष्मीनरसिं बादेको अध्यक्षतामा सम्पन्न भएको छ । नगर सभाले बनेपा नगरपालिका बजार भित्र बाजेबज्यै पार्क निर्माण लगायत सांस्कृतिक संग्राहलय निर्माणका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । नगर सभाले आर्थिक विकासको क्षेत्रगत प्रगति, सामाजिक विकास, आर्थिक विकास र सामाजिक विकास क्षेत्रको प्रतिवेदन प्रस्तुत गरी प्रतिवेदन उपर वडा अध्यक्षहरुको सुझाव र धारणा प्रस्तुत गरिएको थियो । त्यस्तै नगर सभामा वन, वातावरण, विपद ब्यवस्थापनमा भएको प्रगति तथा आगामी कार्ययोजना, सुशासन तथा संस्थागत विकासका बारेमा जानकारी गराईएको थियो ।

नगर प्रमुख लक्ष्मीनरसिं बादेले बनेपा नगरपालिकामा ऐतिहासिक सांस्कृतिक संग्राहलयका लागि कार्यदल गठन, जनशक्ति विकासको लागि कार्यदल गठनको प्रस्ताव प्रस्तुत गरेका थिए । सोहि प्रस्तावलाई नगर सभाले अनुमोदन गरेको छ । त्यस्तै बनेपामै निर्माण गरिने बाजेबज्यै पार्क निर्माणका लागि प्रस्ताव गरेका थिए । नगर सभामा प्रस्तुत भएका विधेयकहरु पनि सर्वसम्वत पास भएको नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताए । शुन्य समयमा नगर सभा सदस्यहरुले नगरका समग्र विकासका बारेमा धारणा राखेका थिए । विहान शुरु भएको नगर सभा दिउसो समापन भएको छ । सभामा उपप्रमुख रेखा सापकोटा दाहालले नगरपालिकाले गरिरहेका समग्र विकास र योजनाका बारेमा जानकारी गराउँदै नगर सभा सदस्यहरुलाई स्वागत गरेका थिए ।

Facebook Comments Box