फागुन २९,
२०७७,काभ्रे/

जिल्लामा नेपाल एकीकरणको समयमा प्रयोग भएका मार्गमा पदयात्रा गरिएको छ । काभ्रेमा नेपाली सेना तथा स्थानीय तहहरुको संयोजकत्वमा धुलिखेलबाट पनौतीसम्मको कोटहरुको पहिचान गरी संरक्षण, सम्वद्र्धन र सैनिक इतिहास प्रवद्र्धन गर्न आज (शनिबार) पदयात्रा गरिएको हो ।

एकीकरणका लागि तत्कालीन समयमा सेनाले प्रयोग गरेका मार्गमध्ये धुलिखेलबाट देवीस्थान, काभ्रेकोट, चौकोट, शारदाकोट हुँदै पनौती रुटमा पदयात्रा भएको हो । कालीजंग गणका गणपति प्रमुख सेनानी मिलन थापाका अनुसार तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्ने क्रममा वि.सं १८०३ देखि वि.सं १८२० सम्म काभ्रे जिल्लामा प्रयोग गरिएका ६ वटा पदमार्ग पहिचान गरी नामाकरण गरिएको छ ।

भ्रमण वर्ष २०२० को सन्दर्भ समेत पारेर गत वर्ष तय भएको कार्यक्रम कोरोना संक्रमणको कारण स्थगित भएको थियो । प्रधानसेनापती पूर्णचन्द्र थापाले आज (शनिबार) पदयात्राको उद्धघाटन गरेका थिए । पदयात्राको लागि ब्रिफिङ स्टल, मेडिकल प्वाइन्ट, खानेपानी प्वाइन्टका साथै स्थानीय तहबाट आफ्नो क्षेत्रको मौलिक कला तथा संस्कृति झल्कने झाँकीहरु समेत प्रदर्शन गरिएका थिए । ती पदमार्गले नगरकोट, नाल्दुम, महादेवपोखरी, अर्नकोट, पलाञ्चोकगढी, भवरकोट, तिमालकोट, धुलिखेल, चौकोट, शारदाकोट, गोरखनाथ, पनौती, खड्पु, बनेपा, साँगा, नाला लगायतका स्थान जोडेको छ ।

यस्तै धुलिखेलस्थित देवीस्थान मन्दिर परिसरमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको छ । मन्दिर परिसरमा निर्मित शालिकको अनावरण नेपाली सेनाका प्रधान सेनापती पुर्णचन्द्र थापा र धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले गरेका हुन् । दुई बर्ष अगाडि उक्त स्थानमा शालिक निमार्ण गर्ने नगर प्रमुखको प्रतिबद्धता अनुसार संस्कृती बिद् तेजेश्वर बाबू ग्वाङबुले शिलान्यास गरेका थिए ।

Facebook Comments Box