चैत्र १,
२०७७,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाका कर्मचारीहरुका लागि सकारात्मक सोंच सम्वन्धी तीन दिने तालिम आज (आइतबार) देखि सुरु भएको छ । तालिम नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा आयोजना गरेका हुन् । तालिमको नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना र रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । तालिमममा दुईवटा पालिकाका गरी ३० जना कर्मचारीहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई नेपाल सरकारका सहसचिव डा. भीष्म भुषाल र सकारात्मक सोचबारेका प्रशिक्षक डा. राजु अधिकारीले प्रशिक्षण दिनेछन् ।

उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाबीच विगतदेखि नै सहकार्य हुँदै आएको र त्यसैको निरन्तरता स्वरुप संयुक्तरुपमा यो तालिम आयोजना गरिएको बताए । विकास भनेको चेतनाको विकास हो भन्दै नगर प्रमुख तिमल्सिनाले चेतनाको विकासका लागि सकारात्मक सोच अपरिहार्य रहेको बताए ।

कार्यक्रममा रोशी गाउँपालिका प्रमुख डिबी लामाले कर्मचारीलाई अझै उर्जावान र सकारात्मक बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए । सकारात्मक सोचले नै संसार बदल्ने सामथ्र्य राख्ने उनको भनाई थियो । सकारात्मक सोच र परिवर्तनको जिम्मेवारी जनप्रतिनिधिको भएको भन्दै उनले त्यसका लागि सकारात्मक सोच हुनु आवश्यक रहेको बताए । नमोबुद्ध र रोशी गाउँपालिकाबीच आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर जारी राख्ने उनले बताए ।

कार्यक्रममा नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङ, जिल्ला समन्वय अधिकारी केशवप्रसाद रिजाल, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले मन्तव्य राखेका थिए ।

Facebook Comments Box