चैत्र २६,
२०७७,काभ्रे/

ईलाका प्रहरी कार्यालय मंगलटारको आयोजनामा रोशी गाउँपालिकाको कार्यालय कटुन्जेवेशीमा आज (बिहिबार) नागरिक सुनुवाई तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्ति पूर्ण एवं सुरक्षित समाजका लागि यस कार्यक्रमको आयोजना गरिएको ईलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए । समाजका अपराधिक गतिविधिको न्यूनिकरण गरी नागरिकहरुको समस्या सम्बोधन गरी प्रहरी प्रशासनले निभाउनु पर्ने भूमिका प्रभावकारी ढंगले कार्यन्वयन गर्न यस्तो कार्यक्रमको आयोजना गरीएको प्रहरी निरीक्षक खड्काले बताए ।

कार्यक्रमका प्रमुख अतिथि रोशी गाउँपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष पदम लामाले रोशी भेगका आम नागरिकहरुले आफूहरुमा परेको समस्या जनप्रतिनिधि, प्रहरी तथा सम्बन्धित सरोकारवाला निकायमा राख्न अनुरोध गरे । अन्य स्थानहरुमा जस्तो बलत्कार, जघन्य अपराधका घटनाहरु यस पालिकामा नभएको बताउदै यसको मतलब प्रहरी प्रशासनले शान्ति सुरक्षाको अनुभूति दिलाउन सकेको उनको भनाई थियो । आगामी दिनहरुमा पनि लैंगिक हिंसा, घरेलु हिसा, मदिरापान सेवन जस्ता कृयाकलापहरु न्यूनिकरण गर्नका लागि प्रहरीसँग साझेदारी गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी वडा नंम्बर ७ का वडा अध्यक्ष पोष्टराज गौतम (रामहरी) ले हिजोका दिनमा प्रहरीसँग घुलमिल हुन गाह्रो हुने अवस्था थियो । आफूमा परेका समस्या अभिव्यक्त गर्ने ठाउँ थिएन । तर आजको दिनमा वडा वडामा जनप्रतिनिधी, मेलमिलाप केन्द्र तथा प्रहरी प्रशासन भएको जसले गर्दा समस्या व्यक्त गर्ने सजिलो माध्यम स्थानीय तहमै बनेको हुनाले विविध हिंसा न्यूनिरकण गर्न सहज वातावरण तय भएको बताए । यति मात्र नभई पिछडिएको वर्ग, महिला, विद्यार्थीहरुले विविध कार्यक्रममा सहभागी भई क्षमता विकास गर्ने माध्यम पनि तय भएको कुरा बताए ।

कार्यक्रममा रोशी गाउँपालिकाको जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, सर्वसाधारण नागरिकहरुको सहभागितामा आफ्नो समुदायको गुनासोमा अन्तरक्रिया भएको कटुन्जेवेशी प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिए ।

Facebook Comments Box