रोशी सहकर्मी–मंङसिर १०,
धुलिखेल/

पाँचखालमा म्याद गुज्रेका ८ हजार ५ सय केजी (१ सय ७० बोरा) मैदा नष्ट गरिएको छ । पाँचखाल नगरपालिका वडा नं. ४ तामाघाट समाजकल्याण चोकमा रहेको राजाराम श्रेष्ठले सञ्चालन गर्दै आएको माँ पलाञ्चोक भगवती धन्द्रे भिमसेन बेकरी उद्योगमा रहेको म्याद गुज्रेका उक्त परिमाणको मैदा सोमवार खाल्डो खनेर पुरिएको हो ।
काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी हुँमागाईको नेतृत्वमा रहेको टोली सहित घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय काभ्रे, पाँचखाल नगरपालिका प्रतिनिधि र पाँखाल उद्योग वाणिज्य संघको संयुक्त टोलीले गत कात्तिक ६ गते गरिएको बजार अनुगमनको क्रममा सो उद्योगको गोदाममा म्याद नागेका मैदा प्रयोग गरेको पाईएपछि शिल गरिएको थियो । त्यसै क्रममा गोदाममा लगाएको शिल अनुगमन टोली लगायत वडा नं. ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, उद्योगका प्रतिनिधि हरिकृष्ण श्रेष्ठ र राधाकृष्ण श्रेष्ठ लगायतको रोहबरमा शिलबन्दी खोली सोमबार घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलको परिसरमा खाल्डो खनेर पुरेको हो ।
उत्पादन भएको मितिले ४५ दिन भित्रमा प्रयोग गर्नुपर्नेमा बेकरी उद्योगमा दूई महिना भन्दा बढी मिति नाघेको १ सय ७० बोरा मैदाको गोदाममा शिल गरेको र सो परिमाणको मैदा नष्ट गरेको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख शिव भण्डारीले बताए । अहिलेको बजारमुल्य अनुसार ४ लाख २५ हजार रुपैयाँ बराबरको ८ हजार ५ सय किलो मैदा फेला परेको बताए ।

Facebook Comments Box