यश कुमार परियार–बैशाख ११,
२०७८,काभ्रे/

जिल्लाको तेमाल गाउँपालिकामा राष्ट्रिय परिचय पत्र बनाउन विवरण संकलन गर्ने कार्य सुरु भएको छ ।

हिजो (शनिबार) बाट सुरु भएको उक्त कार्य गाउँपालिकाको १ देखि ७ नं वडा सम्म एकै साथ संचालन भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष ज्ञान बहादुर लामाले जानकारी दिए । ९ वडा रहेको तेमालमा अहिले १ देखि ७ सम्म मात्रै विवरण संकलन कार्य सुरु भएको छ । प्रवक्ता लामाका अनुसार १० देखि १४ दिन सम्म ७ वडामा विवरण संकलन सकाउने र बाँकि २ वडामा लगतै सुरु गरिने छ ।

नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सिंहदरबार काठमाण्डौबाट राष्ट्रिय परिचयपत्र अभियान २०७७/०७८ अन्तर्गत तेमाल गाउँपालिकामा पनि विवरण संकलन गरिएको हो । यस अघि जिल्लाका विभिन्न पालिकाले विवरण संकलन गरिसकेका छन् ।

राष्ट्रिय परिचय पत्र लिनको लागि नेपाली नागरिकताको सक्कल, बुवा आमाको नागरिकताको प्रतिलिपि, नागरिकताको प्रमाणपत्र जन्म मिति नखुलेको हकमा वडाको सिफारिस आवश्यक पर्छ । यस्तै राहदानि लिएको भएमा सक्कल प्रतिलिपि, बसाईसराई गरेको हकमा बसाईसराई प्रमाणपत्र र बिवाहको हकमा नागरिकतामा पति पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र सहित विवरण संकलन स्थलमा सम्पर्क गर्नुपर्ने प्रवक्ता लामाले जानकारी दिए ।

Facebook Comments Box