बैशाख ११,
२०७८,काभ्रे (भकुण्डेबेशी)/

जिल्लाको नमोबुद्ध नगरपालिकामा रहेको सोती खोलाको पहिलो चरणको काम सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिकाले सोती खोला जलाधार व्यवस्थापन कार्यक्रम सुरु गरेसँगै सोतीले आफ्नो रुप फेर्न लागेको हो । यो कार्यक्रम अन्तर्गत अहिले पहिलो चरणमा नमोबुद्ध नगरपालिका २ मा झण्डै आधा किलोमिटर क्षेत्रमा खोला संरक्षणको काम सम्पन्न भइसकेको छ । वन तथा वातारण मन्त्रालयको जलवायु नमुना कार्यक्रम अन्तर्गत आधा किलोमिटर क्षेत्रमा सोती खोला संरक्षणका लागि दायाँवायाँ पर्खाल लगाउने काम सकिएको छ ।

बहुबर्षे योजनामा परेको यो आयोजना सम्पन्न भएपछि सोती खोलाबाट भकुण्डे र आसपासका किसानले पर्याप्तमात्रामा सिञ्चाई सुविधा उपभोग गर्न पाउनेछन् । नमोबुद्ध नगरपालिकाले सोती खोला संरक्षण र व्यवस्थापनका लागि २०३४ सालको नापीअनुसार खोलाको सीमांकन गरेर काम सुरु गरेको थियो ।

नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले केही बर्षपछि भकुण्डेमा सिञ्चाईको अभाव नहुनेगरी कार्यक्रमलाई अघि बढाइएको बताए । नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलका अनुसार प्रदेश सरकार र संघीय सरकारका अन्य निकायसँग पनि सहकार्य गर्दै कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउने प्रयास भइरहेको छ ।

सोती खोला जलाधार व्यवस्थापन कार्यक्रमअन्तर्गत यस बर्ष ९९ लाख ६८ हजार रुपैयाँको काम सम्पन्न भएको छ । त्यसमा १५ लाख २९ हजार रुपैयाँ जनश्रमदानबाट र बाँकी नेपाल जलवायु अनुकुलन कार्यक्रममार्फत खर्च भएको छ । नमोबुद्ध नगरपालिकाका इन्जिनियर उज्ज्वल अर्यालका अनुसार सहायक खोलासहित सोती खोला व्यवस्थापनका लागि कुल ४५ करोड ६८ लाख रुपैयाँ खर्चहुने अनुमानसहितको डिपिआर तयार भइसकेको छ । डिपिआरअनुसार खोलाको दुबैतर्फ कोरिडोरसमेत निर्माण हुनेछ । नमोबुद्ध नगरपालिका २, ३, ४ र ७ अन्तर्गत ४.३०५ किमी लम्बाईमा सोतीखोलाको मुहानदेखि दाप्चा खोलासम्म यो काम सम्पन्न हुनेछ ।

सोती खोला जलाधार व्यवस्थापन कार्यक्रमको पहिलो चरणको काम सकिएपछि वन तथा वातावरण मन्त्रालयका सहसचिवद्वय डा. राधा वाग्ले र विन्दुकुमारी मिश्र तथा उपसचिव सिर्जना श्रेष्ठ, नगर प्रमुख टिपी शर्मा तिमल्सिना लगायतले कार्यक्रमस्थलको अनुगमन गरेका छन् ।

Facebook Comments Box