बैशाख १४,
२०७८,काभ्रे/

बेथानचोक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भन्डारीले वडा नं २ मा रहेको नमुना विद्यालयको अनुगमन गरेका छन् । सोमबार बेथानचोक–२ गेल्डुङमा रहेकोे पार्बती माध्यमिक विद्यालयको अनुगमन गर्दै अधिकृत भण्डारीले विद्यालयको नर्सिङ कक्ष, लाइब्रेरी, अफिस कोठा लगाएत पठनपाठन भइरहेका कक्षाहरुको निरीक्षण समेत गरेका थिए ।

अध्यापन भइरहेका कक्षा कोठामै गएर विद्यार्थीहरु संग साक्षतकार गर्दै भण्डारीले विद्यार्थीहरुको लगनशीलता र शिक्षकहरुको शिक्षण कार्यको प्रसंशा गरेका थिए । उनले नमूना विद्यालयको रुपमा विकसित विद्यालयको कम्प्युटर प्रयोगशाला, बिज्ञान प्रयोगशाला लगाएत विद्यालयको समग्र भौतिक र शैक्षिक पक्षको समेत निरीक्षण र जानकारी लिएका थिए ।

विद्यालय अनुगमनको क्रममा विद्यालयका प्रधानाध्यापक गोबिन्द प्रसाद शर्माले विद्यालयको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत भण्डारीको स्वागत गर्दै आगामि दिनमा विद्यालयलाई भरपुर सकारात्मक सहयोग गर्ने अपेक्षा व्यक्त गरे । प्रतिउत्तरमा प्रमुख प्रशासकीय अधिकृत भण्डारीले आफुले गर्नुपर्ने काममा कुनै कमि हुन नदिने र बेथानचोक गाउँपालिका भित्रका विद्यालयहरुको भौतिक तथा शैक्षिक उन्नतिका लागि आफू सधैं प्रतिबद्ध रहेको बताएका थिए ।

Facebook Comments Box