रोशी सहकर्मी–मंङसिर ११,
मेलम्ची/

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले जनप्रतिनिधिहरुलाई पोशाक भत्ताका नाममा गैरकानूनी रूपमा रकम बाँडेको खुलेको छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐनमा समेत व्यवस्था नभएको पोशाक भत्ता जनप्रतिनिधिलाई कानूनविपरीत बाँडिएको हो । पोशाक भत्ता भनेर १०–१० हजार रुपैयाँ बुझेका जनप्रतिनिधिहरूले उक्त रकमबाट पोशाक खरिद गर्नुको साटोे पैसा थपथाप गरेर कसैले टीभी त कसैले गरगहना जोडेका छन् । उक्त रकम लिनेमा नगरपालिकाका प्रमुख (मेयर) डम्बरबहादुर अर्याल, उपप्रमुख भगवती नेपाल, १३ जना वडाध्यक्ष, ५२ जना वडा सदस्य र मनोनित ३ सदस्य समेत गरी ७० जना जनप्रतिनिधि रहेको मेलम्चीमा ५ सदस्यबाहेक ६७ जना रहेका छन् । पोशाक भत्ताका रूपमा जनही १० हजार बाँडिसकिएको नगरपालिकाबाट प्राप्त सूचनामा उल्लेख छ ।
पैसा नलिनेमा जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका वडा नम्बर १२ का सदस्य कृष्णगोपाल तामाङ, वडा नम्बर १ का सदस्य खम्बासिंह तामाङ, वडा नम्बर २ का सदस्य नगेन्द्रराज खतिवडा रहेका छन् । जिल्ला समन्वय समितिबाट कृष्णगोपालले र शिक्षकबाट अवकाशप्राप्त नगेन्द्रले दोहोरो सुविधा लिने गरेका छैनन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका खम्बासिंह लाई भने भत्ता उपलब्ध नगराइएको स्रोतले जानकारी दिएको छ । नागरिकले तिरेको करबाट नगपालिकाले ६७ जना जनप्रतिनिधिलाई पोशाक भत्ता वितरण गर्न नगर कार्यपालिकाको निर्णयअनुसार आर्थिक वर्ष २०७५र०७६ मा ६ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरिएकामा चालु आर्थिक वर्षमा बजेट बढाएर ७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

Facebook Comments