बैशाख २३,
२०७८,काभ्रे/

जिल्लाको चौंरीदेउराली गाउँपालिकाले कोरोना भाइरस संक्रमितको उपचारको लागि ३ ठाउँमा आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको छ । गाउँकार्यपालिका सदस्यहरु र विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरुको प्रमुख सहितको बैठकले कुल १८ बेडको आइसोलेशन कक्ष निर्माण गर्ने निर्णय गरेको पालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिए ।

काभ्रे जिल्लामा कोभिड–१९ संक्रमित बढीरहेको बेला उच्च सर्तकता र संक्रमितको उपचार गर्नका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउदै अध्यक्ष गौतमले कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि विभिन्न योजनाहरु बनाएको जानकारी दिए ।
बैठकले धुसेनी शिवालय प्राथमिक अस्पतालमा १० बेडको, वडा नं. २ मा रहेको डिसीडब्लुसि अस्पतालमा ५ बेडको र धुलिखेल अस्पतालको आउटरिच सलम्बुमा ३ बेडको आइसोलसेन कक्ष निर्माण गर्न लागेको गौतमले बताए ।

बैठकले कोभिड–१९ संक्रमितलाई उपचारको लागि स्वास्थ्यकर्मीले सिफारिस गरिएको सबै प्रकारको औषधि खरिद गर्ने निर्णय समेत गरेको अध्यक्ष गौतमले जानकारी दिए । त्यस्तै बैठकले कम्तिमा २० वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिने र उक्त सिलिन्डर खरिदको प्रक्रिया समेत अगाडि बढाउने गौतमले बताए ।
चौंरीदेउरालीमा धुसेनी शिवालय प्राथमिक अस्पतालमा २ जना, अरु अस्पतालहरुमा १÷१ जना गरी ४ जना एमवीवीएस डाक्टरहरु रहेका छन् ।

Facebook Comments Box