रोशी सहकर्मी–मंङसिर ११,
नक्कली हस्ताक्षर गरि राजधानीका विभिन्न बैंकबाट करिब २० लाख रुपैयाँ चोरी गरेको अभियोगमा प्रहरीले ६ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–३ का १९ वर्षीय सुभाष श्रेष्ठ, सोही स्थानका १९ वर्षकै कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे, २१ वर्षीय अन्जन बराल, सिन्धुपाल्चोकका ३० वर्षीय गोविन्द घिमिरे र बागलुङगलकोट नगरपालिका–३ का २५ वर्षीय सुमन पाडेल रहेका छन् । पक्राउ परेकाहरु सबै विद्यार्थी हुन् ।
नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जानकारी दिए । उनीहरु मध्ये गोविन्द र अन्जन प्रमुख योजनाकार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रकम चोरी गर्न प्रयोग भएको शैली हेर्दा बैंकका कर्मचारीको सहयोगविना सम्भव नदेखिने अनुसन्धानमा संलग्न अधिकृतहरुको भनाइ छ । यो घटनामा फर्जी कागजको प्रयोगबाट चेक बनाएर अनाधकृत रुपमा रकम निकालेको पाइएको छ । उनीहरुले खातावालाको चेकमा रहेको हस्ताक्षर चोरी गरी सोही व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ सक्कली चेक नै लिएर रकम निकालेको प्रहरीको भनाइ छ । पक्राउ परेका सबैलाई पाटन उच्च अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

Facebook Comments