यश कुमार परियार–जेठ ५,
२०७८,काभ्रे/

जिल्लाको रोशी गाउँपालिका वडा नं ३ का एक जनाको कोरोना भाईरस संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि वडा निवासी ७० वर्षका पुरुष छन् । उनको आज बिहान घरमा नै मृत्यु भएको जानकारी प्राप्त भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले जानकारी दिए ।

गत आईतबार (जेठ २) भदौरेमा उनी लगायत ३१ जनाको स्वाब संकलन गरी परिक्षणको लागि जनस्वास्थ्य प्रयोगशाला धुलिखेल पठाईको थियो । जसको रिपोर्ट आज (बुधबार) साँझ प्राप्त भएको स्वास्थ्य शाखाका दिल रत्न शाक्यले जानकारी दिए । उनका अनुसार ३१ जनाको स्वाव परिक्षणमा मृतक पुरुष सहित मझुवा र भदौरेका १६ जनामा कोरोना पुष्टि भएको छ । ‘वडाका केहि व्यक्तिहरुमा कोरोना सँग मिल्दो जुल्दो लक्षण देखा परेपछि आज मृत्यु भएका पुरुषले केहि दिन अघि गाउँपालिकामा सम्पर्क गरेका थिए, लगतै हामी गएर स्वाव संकलन गर्यौ’ शाक्यले भने, ‘उनलाई केहि दिन अघि ज्वरो आएको बताए पनि हाल स्वास्थ्य अवस्था ठिक छ भनेका थिए, तर उनको आज मृत्यु भयो ।’

मृतक पुरुषका मलामीमा सहभागी सबैलाई स्वास्थ्य सतर्कता अपनाई घरमा नै बस्न र केहि दिन पछि कन्ट्याक ट्रेसिङको काम अघि बढाईने शाक्यले जानकारी दिए । गाउँपालिकाले मानिस जमघट हुने बिवाह, भोज लगायतका कार्य नगर्न सुचना जारी गर्दा पनि यस्ता गतिबिधि नरोकिएको र काठमाण्डौ लगायत सहरबाट गाउँ फर्किएका व्यक्तिहरुबाट वडामा कोरोना फैलिएको हुन सक्ने शाक्यले बताएका छन् ।

Facebook Comments Box