जेठ ६,
२०७८,काभ्रे/

जिल्लाको चौँरीदेउराली गाउँपालिका वडा नं ९ गोठपानी कालिमाटीमा श्रीमतीको खाल्डो खनेर पुरेको अभियोगमा प्रहरीले श्रीमान र ससुरा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

बिहिबार साविक गोठपानी गाविस वडा नम्वर १ कालिमाटी घर भएकी २२ बर्षिया सुमिना गुरुङ्गको शव प्रहरीले गाडिएको स्थानबाट उत्खनन गरेको हो । प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाका अनुसार घटनामा संलग्न भएको अभियोगमा श्रीमान २८ बर्षिय सोनाम लामा र महिलाका ससुरा ६६ बर्षिय च्याङ्गवा भनिने चन्द्रबज्र लामालाई नियन्त्रणमा लिईएको छ । तनहुँ जिल्ला बन्दीपुर नगरपालिका वडा नम्वर ४ लोही माईतीघर भएकी २२ बर्षिया सुमिना गुरुङ्ग लामाको सोनाम लामासँग केहि वर्ष अघि मात्रै प्रेम विवाह भएको थियो ।

अन्र्तजातिय विवाह, पारिवारिक बेमेलका कारण श्रीमान श्रीमती बीच केहि समय देखि झै झगडा हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राजधानीमा निषेधाज्ञा भएको र परिवार पनि गाउँमै रहेकाले उनिहरु गाउँमै बसेका थिए । सुमिना २०७८ जेठ १ गते दिउसै देखि गाउँबाट हराएकाले स्थानीयहरुको समेत सहयोगमा खोजतलास शुरु गरिएको थियो । सुमिना हराएपछि माईतमा खबर गरिएको, साँझ सुमिना गुरुङ्ग सलको पासो लगाएर झुण्डिएको अवस्थामा देखेपछि लगत्तै बचाउन सकिन्छ कि भन्ने आशमा पासो काटेको तर उनि मरिसकेकाले अरुले थाहा पाउँछन भन्ने डरमा बाबुको सल्लाहमा मकै बारीमा खनेर गाडिदिएको श्रीमान सोनाम लामाले बयान दिएका छन् ।

मृतकको शवलाई पोस्टमार्टमका लागि पठाई थप अनुसन्धान शुरु गरिएको डिएस्पी खतिवडाले जानकारी दिनुभयो । प्रहरीले आवश्यक अनुसन्धान गरी दोषिलाई कारवाहीका लागि अदालत बुझाईने प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिएका छन् ।

Facebook Comments Box