जेठ ६,
२०७८,काभ्रे/

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता तीन साता अवधिमा जिल्लामा ७४ जनाले ज्यान गुमाएका छन् । जिल्लाको धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा ७० र होम आइसोलेसनमा चार जनाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार बैशाख १६ यता कोराना संक्रमितको दैनिक मृत्यु भइरहेको छ । धुलिखेल नगरपालिकाका १८, बनेपाका १४, पनौतीका ६, मण्डनदेउपुरका ४, चौरीदेउराली र रोशी गाउँपालिकाका २/२, नमोबुद्ध नगरपालिकाका ३, पाँचखाल नगरपालिकाका १ जनाको मृत्यु भएको उनले जानकारी दिए । धुलिखेल अस्पतालमा उपचार गराएका अन्य जिल्लाका २४ जनाको पनि मृत्यु भएको छ ।

संक्रमितहरू २० वर्षदेखि ९० वर्षसम्मकाले ज्यान गुमाइरहेका छन । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार, २० देखि ३० वर्षसम्मका ५ जना, ३१ देखि ४० वर्षसम्मका ९ जना, ४१ देखि ५० वर्षसम्मका ११ जना, ५१ देखि ६० वर्षसम्म १० जना, ६१ देखि ७० वर्षसम्मका २२ जना, ७१ देखि ८० सम्मका १२ जना र ८१ देखि ९० वर्षसम्मका ६ जनाले ज्यान गुमाएका छन । ज्येष्ठ नागरिक, दीर्घरोग भएका र संक्रमण पुष्टि भएपछि पनि घरमा नै रहेकाको मृत्यु भएको उपचारमा संलग्न अस्पतालले जनाएको छ ।

Facebook Comments Box