रोशी सहकर्मी–मंङसिर १३,
बनेपा/

रोशी गाउँपालिकाका अध्यक्ष डीबी लामाले मुलुकको हरेक परिर्वतनमा नेपाली मिडियाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ काभे्र शाखाको आयोजना तथा रोशी गाउँपालिकाको सहयोगमा आयोजित रेडियो पत्रकारिता विकास तालिमको उद्घाटन समारोहमा बोेल्दै अध्यक्ष लामाले पत्रकारले कलम चलाएपछि मात्र हरेक आन्दोलन सफल भएको हो भन्ने ।
बनेपामा भएको कार्यक्रममा उनले जनप्रतिनिधिले गरेका गल्तीलाई गलत र सहीलाई सही भन्न नेपाली मिडियाले चाहेमा समृद्ध मुलुक बनाउन समय लाग्दैन भने । “हामी जनप्रतिनिधि जनताको सेवा गर्न आएका हौँ, सेवक बन्न होइन”, लामाले भन्दै– “तपाई मिडिया कर्मीहरुले कसले सेवा गरेको छ, कसले जनतालाई सेवक बनाएको छ, हेर्न सक्नुपर्छ”–भने । कार्यक्रममा अध्यक्ष लामाले रोशी गाउँपालिकामा कुनै पनि पार्टी हेरेर काम नगरेको स्मरण गराउदै निर्वाचित भएर आएको पहिलो बैठकबाटै कुनै पार्टी नभएको घोषणा गरेको र त्यसै अनुसार काम भइरहेको छ, सुनाए ।
कार्यक्रममा नेपाल प्रेस काउन्सिलका सदस्य इश्वरी ओझाले रेडियो पत्रकारिता विस्तारसँगै यसको गुणस्तरीयतामा ध्यान दिन सक्नुपर्ने सुझाव दिए । तालिमका प्रमुख प्रशिक्षक सन्तोष भट्टराईले पत्रकारितामा हार्दिकता र अनुशासन भएका मात्र टिक्न सकिन्छ भने । नेपाल पत्रकार महासंघ प्रदेश नं ३ का उपाध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासंघ काभे्र शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, पुर्व अध्यक्षत्रय भोला थापा, महेश पौडेल र भोजराज तिमल्सिना, उपाध्यक्ष रमेश न्यौपाने लगायतले पत्रकारितामा पक्ष र विपक्ष नहुने भएकाले निष्पक्ष पत्रकारिता जसले गर्छ उनै सफल बन्न सक्ने धारणा राखे ।
रोशी गाउँपालिकाले रेडियो पत्रकारिता तालिमका लागि दुई लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । काभे्रका रेडियोमा आबद्ध पत्रकारहरुले तालिममा सहभागिता जनाएको कार्यक्रममा बरिष्ठ पत्रकार सन्तोष भट्टराईले प्रशिक्षण दिएका थिए ।

Facebook Comments