जेठ,१७
२०७८,काभ्रे

काभ्रेको बेथानचोक गाउपालिका वडा नम्बर २ ढुंखर्कको महाभारत जंगलमा भेटिएको दुर्लभ सेतो मृग जाउलाखेल सदर चिडियाखाना पठाइएको छ । आज च्याम्राङबेशी ढुंखर्क प्रहरी चौकीका इन्चार्ज हरेराम पराजुलीले सब डिभिजन वन कार्यालय खोपासीका सहायक बन अधिकृत हेम बहादुर थापा मार्फत उक्त मृग सदर चिडियाखाना पठाएका हुन ।
तीन दिन अघि बेथानचोक–२ का धिरज घिमिरेले महाभारत जंगलमा दाउरा खोज्न जाँदा माउले छाडेर अलपत्र परेको मृगको बच्चा भेटाएका थिए । उनले आइतबार उक्त मृगको बच्चा प्रहरी चौकी ढुंखर्कलाई बुझाएका थिए । प्रहरी चौकीले आज बेथानचोक गाउपालिका र वडा कार्यालयको समन्वयमा जाउलाखेल स्थित सदर चिडियाखानामा पठाईएको छ । बेथानचोक गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नम्बर २ का अध्यक्ष भगवान घिमिरे , रेडक्रस सोसाईटी बेथानचोक शाखा अध्यक्ष केदार बहादुर क्षेत्री ,हातेमालो युवा समाजका अध्यक्ष विनोद तिमल्सिना लगायतको उपस्थितिमा चिडियाखाना पठाइएको छ ।
उष्ण तथा समशितोष्ण क्षेत्रको जंगल तथा घासेमैदानहरूमा पाइने शाकाहारी जनावर हो । यो जनावर विभिन्न आकार रङ र स्वरूपमा पाइन्छ । रतुवा मृग, चित्तल, बाह्रसिङ्गे, हरिण, कस्तुरिमृग लगायत यसका विभिन्न प्रजातिहरू पृथ्वीमा अस्तित्वमा रहेका छन् । मृगका सबै प्रजातिका भालेहरू, चीनियाँ जलमृग र हरिणको पोथीहरूको समेत टाउकोमा सिङ् पलाउछ । प्रत्येक वर्ष मृगहरूको पुरानो सिङ् झरेर नयाँ सिङ् पलाउने गर्दछ, यही कारणले मृगहरूलाई स्थायी रूपमा सिङ् रहने कृष्णसार जस्ता जनावर भन्दा अलग बनाएको छ । कृष्णसार र मृगहरू प्राणी जगतको एउटै श्रेणीका जनावर हुन् ।

Facebook Comments Box