जेठ,१७
२०७८,काभ्रे

बनेपा नगरपालिकाले लगाएको सिल हटाएको छ । नगरपालिकाले कोरोना संक्रमण उच्च रहेको भन्दै लगाएको सिल आज मध्यरातबाट सकिएको छ । नगरले जेठ ४ गतेबाट नगर क्षेत्र सिल गरेको थियो ।
नगरले सिल हटाएपनि जिल्ला प्रशासन काभ्रेद्धारा गरिएको निषेधाज्ञा भने कायम मै रहेको सूचनामा जनाएको छ । नगरद्धारा जारी सूचनामा भोलि (मंगलबार) बाट बिहान ६ बजेदेखी १० बजेसम्म खाद्यान्न, ग्याँस, तरकारी, फलफूल, खानेपानी, पशुको दाना बेचबिखन गर्ने पसलहरू नेपाल सरकारले तोकेको जनस्वास्थ्यका सबै मापदण्ड पालना गरेर खोल्न पाईने उल्लेख छ ।
बनेपा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती द्वारा हस्ताक्षरित सूचनामा भोली बिहान देखि २४ गतेसम्मका लागि पसल खोल्ने समय निर्धारण गरिएको जनाइएको छ । औषधी तथा अस्पताल, विजुली, सञ्चारका कार्यालय, फोहोर मैला व्यवस्थापनका कार्यालयहरू पनि खोल्न पाईने छ । यस्तै, बैंक तथा वित्तीयहरूको हकमा कर्मचारीको व्यवस्थापनको आधारमा आलोपालो विधि मार्फत खोल्न पाईने उल्लेख छ । यस बीचमा निजी तथा सार्वजनिक सावरी साधन भने चल्न पाउने छैनन् । उद्योग, कलाकारखाना पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न पाईने छ । भिडभाड हुने जिमखाना, सिनेमा हल, विद्यालय, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट खोल्न नपाइने सूचनामा भनिएको छ । बनेपा नगरपालिकाले नगरबासीलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन तथा अत्यावश्यक काम परे मास्क लगाएर मात्र हिड्न पनि आग्रह गरेको छ ।

Facebook Comments Box