जेठ २१,
२०७८,काभ्रे/

जिल्लाको बेथानचोक गाउँपालिकाले कोरोना महामारीका बिच पनि बिकास निर्माणका कार्यलाई निरन्तर्ता दिएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७७/७८ मा सम्पन्न गर्ने गरि ठेक्का गरिएका ठुला आयोजना मध्ये पाट्नेखोला नदि नियन्त्रण र ग्वाभन्ज्याङ च्याम्राङ्बेशी सडक स्तरउन्नति कार्यलाई गाउँपालिकाले उच्च प्राथमिकताका साथ अगाडी बढाइएको छ ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाका अनुसार गाउँपालिकाले यस आ.व.को पहिलोपटक ठेक्का गरिएका भालुछाप्रा च्याम्राङ मोटरबाटो, पाट्ने खोला नदि नियन्त्रण, सलान्दुबगर नदि नियन्त्रण सम्पन्न भएको बताए । उक्त योजनाहरु र अन्य योजनाहरुको ठेक्का पछि घटाघटबाट बिलो रहेको रकमका पुनः ठेक्का गरिएका कार्यहरू, पाट्नेखोला नदि नियन्त्रण तथा करिडोर निर्माण र ग्वाभन्ज्याङ च्याम्राङ्बेशी सडक स्तरउन्नतिको कामलाई समयसीमामै सम्पन्न गराउन उनले निर्देशन दिएका छन् । कोरोनाको महामारी बिच गाउँपालिकाको सहयोग र समन्वयमा काम कार्यान्वयनको चरणमा रहेकोे उनले बताए ।

गाउँपालिकाले आर्थिक बर्ष २०७७÷७८ को पहिलो चरणको ठेक्कामा ग्वाभन्ज्याङ भालुछाप्रा सडकलाई २ करोड ठेक्का भएकोमा ठेक्काबाट घटाघटमा बाँकी रहेको १ करोडलाई ग्वाभन्ज्याङ च्याम्राङ्बेसि सडकलाई बिनियोजन गरेको साथै पाट्नेखोला नदि नियन्त्रणको २ करोडमा गरिएको ठेक्काबाट बाँकी रहेको १ करोडको रकमलाई पाट्नेखोला नदि नियन्त्रण तथा करिडोर निर्माणका लागि ठेक्का लगाइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले बताए ।

पहिलो चरणको ठेक्काको कार्यहरू अन्तिम चरणमा पुगेकाले अब दोस्रो चरणका ठेक्का मार्फतका कार्यक्रम द्रुत गतिमा सञ्चालनको लागि गाउँपालिकाले चासो दिदै अग्रसरता लिएको भण्डारीले बताए । त्यसैगरी वडा कार्यालय देखि कोर्थलीसम्म जाने सडकको बाँकी काम गर्न गरिएको ठेक्का र तिप्चोक पार्थली सडकको कार्य पनि धमाधम गर्न निर्देशन गरिएको सोही अनुसार कार्य अगाडि बढेको उनको भनाइ छ ।

कोरोनाको महामारी बिच पनि यसै आ.व.मा सम्पन्न गर्ने लक्ष्य राखीएको बिनियोजित कार्यक्रमहरु अनिवार्य कार्यान्वयन गर्नै पर्ने आवश्यकतालाइ मध्येनजर गर्दै काम अगाडी बढाउने निर्णय भएको उनले बताए । गाउँपालिकाको बिकास निर्माणले ठुलो महत्व राख्ने भएकाले आयोजनाहरुमा स्थानीयलाई स्वास्थ सुरक्षाको मापदण्ड अपनाइ काममा लगाउन ठेकेदारलाई निर्देशित गरिएको र सोही बमोजिम ठेकेदारले स्थानीय जनशक्ति प्रयोग गर्दै आयोजना संचालन गरेको इन्जिनियर तथा गाउँपालिकाका सूचना अधिकारी ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।

Facebook Comments Box