जेठ २१,
२०७८,काभ्रे/

कोभिड–१९ को महामारीलाई लक्षित गर्दै नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा सञ्चालित आइसोलेसन केन्द्रका लागि भकुण्डेबेसी जेसीज र भकुण्डेबेशी जुनियर जेसीजले आज अत्यावश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।

आइसोलेसन केन्द्रका लागि जेसीजले ५० हजार रुपैयाँ बराबरको अत्यावश्यक औषधी, माक्स, पिपिई, अक्सीमिटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आइसोलेसन केन्द्रमा आयोजित कार्यक्रममा भकुण्डेबेशी जेसीज बर्ष २०२१ का अध्यष सुदर्शन चिमौरियाले नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । कार्यक्रममा मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनाल, भकुण्डेबेसी जेसीजका पूर्व अध्यक्षहरु हरिहर अधिकारी, केबी तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनालले सबैको सहयोगमा कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणमा लागिपरेको बताउँदै जेसीजले गरेको सहयोगले थप हौसला मिलेको बताए । नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले संकटको बेला जेसीजले गरेको सहयोगले कोरोना रोकथाम र नियन्त्रणको अभियानलाई हौसला मिलेको बताए । नमोबुद्ध नगरपालिका ४ स्थित जनक बहुमुखी क्याम्पसमा नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा ४० बेडको आइसोलेसन केन्द्र सञ्चालन गरिरहेका छन् ।

केन्द्रमा हाल कोभिड १९ बाट संक्रमित ७ जना बिरामी रहेको आइसोलेसन केन्द्रकी इन्चार्ज मथुरा सत्यालले जानकारी दिएकी छन् । आइसोलेसन केन्द्रका लागि यसअघि प्रारम्भ सामाजिक संस्था, आनी छोइङ डोल्मा फाउण्डेसन लगायतका दाताहरुले स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

Facebook Comments Box