जेठ २२,
२०७८,काभ्रे/

नाङ्शाल एसोशियसन नेपालले काभ्रेका विभिन्न पालिकामा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । वि वर्ल्ड अनलसको सहयोगमा नाङ्साल एसोशियसन नेपालले बेथानचोक गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर लगायत कोरोना संक्रमितहरुको उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

संस्थाका अध्यक्ष दिनेश लामाले अक्सिजन कन्सन्ट्रेटर २ थान , अक्सिजन सिलिन्डर ५ थान गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनालाई हस्तान्तरण गरेका हुन् । त्यस्तै संस्थाले जिल्लाकै खानीखोला गाउँपालिका ७ मिल्चेमा आईसोलेसन केन्द्र सञ्चालन गर्न १० थान वेड र ५ थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ । मिल्चेका वडा अध्यक्ष क्षेत्र ग्यावालाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष लामाले पछिल्लो समय गाउँगाउँमा कोरोना फैलिएको भन्दै सहज उपचारका लागि आफूले सकेको सहयोग गरेको बताए । स्वास्थ्य सामाग्रीको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनि आफ्नो संस्थाले सहयोग गर्दै आएको जानकारी दिए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक गुणराज मोक्तान, कार्यक्रम संयोजक राजन पौडेल, नेपाली काँग्रेस बेथानचोकका कोभिड अनुगमन संयोजक गोविन्द अधिकारी एवं रेडियो गौरवका स्टेसन म्यानेजर महेन्द्र थिङ लगायतको उपस्थिति थियो ।

Facebook Comments Box