जेठ २४,
२०७८,काभ्रे/

बेथानचोक गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समिती संयोजक सरिता लामिछाने तामाङले बेथानचोक -३ मा अवस्थित नारायणस्थान मन्दिरको खानेपानी आयोजनाको काम कारबाहीको बारेमा अनुगमन गरेकी छन् ।
यहि २३ गते आइतबार उपाध्यक्ष लामिछानेले देउराली लगाएत नारायणस्थानका विभिन्न ३ ठाँउमा बन्ने खानेपानी ट्याङ्की निर्माण स्थलहरुको निरीक्षण गर्नुभएको प्राबिधिक मुक्ति सापकोटाले बताए । ट्याङ्की निर्माण पछि लिफ्टिङ सिस्टमबाट पानी लगिने योजना रहेको सापकोटाको भनाइ छ ।

बेथानचोक गाउँपालिका वडा ३ का वडा अध्यक्ष दिलबहादुर श्रेष्ठले आर्थिक बर्ष २०७७/७८ को बजेट कार्यक्रममा नारायणस्थान पर्यटन बिकासमा खानेपानीको ठुलो महत्त्व रहेकाले नारायणस्थान खानेपानीका लागि गाउँपालिकाले बजेट बिनियोजन गर्न आवश्यक सिफारिस गर्नुभएकोले उहाँकै माग बमोजिम नेपाल सरकारको विशेष अनुदानमा उक्त कार्यक्रममा समाबेश गर्न नेपाल सरकारलाई मागी पठाइएको र ७७/७८ को नेपाल सरकारको विशेष अनुदानमा नारायणस्थान खानेपानी ब्यवस्थापनका लागि ३० लाख रुपैयाँ बजेट प्राप्त भइ कार्यक्रम कार्यान्वयनको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले बताए ।
नारायणस्थान मन्दिर दक्षिण महाभारतको पर्वत श्रृङखलाको सबैभन्दा अग्लो स्थान रहेको जसको उचाई ३०१८ मिटर छ । हिउँदमा आन्तरिक तथा बाह्य पर्यटकको ठुलो संख्या यस क्षेत्रमा आउने गर्दछन त्यसकारण उक्त पर्यटकिय मार्गमा पर्यटकहरुलाई खानेपानी सुबिधा पुग्ने हेतुले खानेपानी आयोजना संचालन गरिएको वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ बताउछन् ।
हाल तीन वटा ट्याङ्की क्रमश: १०००० लिटर , ३०००० लिटर , ५०००० लिटर खानेपानी अट्ने ३ वटा ट्याङ्की बनाउने कार्य तिब्रताका साथ अगाडी बढाउन लागिएको र ट्याङ्की निर्माणस्थल र निर्माणकार्यको उपाध्यक्ष एवम् गाउँपालिका स्तरीय अनुगमन समिति संयोजक सरिता लामिछानेज्युले अनुगमन गर्नुभएको गाउँपालिका सूचना अधिकारी तथा इन्जिनियर ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।

Facebook Comments Box