जेठ २६,
२०७८,काभ्रे/

जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ९ का पहरी समुदायलाई अनुदानमा बाख्रा वितरण गर्ने भएको छ । वडाध्यक्ष किरण श्रेष्ठले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् । यो बाख्रा पाँचखाल नगरपालिकाको पशुपन्छी शाखाले चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट वितरण गर्न लागेको हो ।

वितरण गरिने बाख्रामा नगरपालिकाले ८० प्रतिशत अनुदान दिने छ भने पहरी समुदायले २० प्रतिशत लगानी गर्नु पर्ने छ । १३ हजार ३९९ प्रति बाख्रामा पहरी समुहले २ हजार ६ सय ७९ रूपैयाँ बेहोर्नुपर्ने छ ।

वडा नम्बर ९ का पहरी समुदायका एकल महिला, विदेशबाट आएका र मृगौला पीडितले बाख्रा पाल्नको लागि आवेदन दिन सक्नेछन् । आवेदन यही असार १ गते भित्र वडा कार्यालयमा दिई सक्नुपर्ने वडाध्यक्ष श्रेष्ठले बताए । वडा नम्बर ९ मा ४९ वटा बाख्रा पहरी समुदायलाई वितरण गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Facebook Comments Box