साउन ७,
२०७८,काभ्रे/

बहुप्रतिक्षित मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना सम्पन्न गर्न त्रिपक्षीय सम्झौता भएको छ । कुन्ताबेसीमा आयोजित एक कार्यक्रमका बिच मण्डनदेउपुर नगरपालिकामा सञ्चालन हुने खानेपानी आयोजना सम्पन्न गर्न त्रिपक्षीय सम्झौता भएको हो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुर, मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मण्डनदेउपुर नगरपालिका बीच त्रीपक्षीय सम्झौता भएको हो ।

सम्झौता पत्रमा खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरको तर्फबाट राजेन्द्र श्रेष्ठ, मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको तर्फबाट अध्यक्ष राम बहादुर तामाङ र मण्डनदेउपुर नगरपालिकाको तर्फबाट नगरप्रमुख टोक बहादुर वाईबाले हस्ताक्षर गरेका छन् ।

खानेपानीको चरम समस्या भोगिरहेका नगरको १२ वडामध्ये ४ देखि १२ नम्बर वडा सम्मका नागरिक लाभान्वित हुने छन् । नगरपालिकाले पाँच हजार ५ सय ५५ परिवारका ३० हजार जनसख्यालाई तीन बर्षभित्र पानी खुवाउने लक्ष्य राखेको छ । उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयवासीसँग प्रति उपभोक्ता एक हजार लिएको छ ।

यो खानेपानी आयोजनाका लागि पहिलो चरणमा ५४ करोडको ठेक्का आह्वान भैसकेको छ । गत चैतमा उक्त खानेपानी आयोजनालाई एक अर्ब स्वीकृत भएको थियो । आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको ९६ करोड र स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित एक अर्बको आयोजना स्वीकृत गरिएको हो । नगरपालिकाले खानेपानी आयोजनाका लागि करिब एक करोड लगानी गर्ने सम्झौता गरिएको उपभोक्ता संस्थाका अध्यक्ष रामबहादुर तामाङले बताए ।

Facebook Comments Box