सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ । नेपालको वर्तमन संविधानको भाग ३ मा मौलिक हक अन्र्तगत सूचनाको हकको पनि व्यवस्था गरिएको छ जहाँ प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनैपनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ भनेर उल्लेख छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ साथै प्रत्येक सार्वजनिक निकायले नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्नु गराउनु पर्नेछ । त्यसको निम्ति सूचना वर्गीकरण र अद्यावधिक गरी समय समयमा सार्वजनिक, प्रकाशन तथा प्रसारण गर्ने गराउने, सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउने र आफ्नो काम कारबाही खुला र पारदर्शी रुपमा गर्ने सार्वजनिक निकायको दायित्व रहेको व्यवस्था गरिएको छ । संविधान प्रदत्त नागरिकको सूचनाको हकको सम्मान गर्दै रोशी गाउँपालिका अन्र्तगतका नागरिकहरुलाई सूसुचित गर्नु संविधानतः रोशी गाउँपालिकाको दायित्व हुन आउँछ । यस रेडियो मार्फत स्थानीय सरकारको तर्फबाट आफ्नो नागरिक सामू पुर्याउनु पर्ने सन्देश छिटो छरितो र सहज माध्यमबाट पुर्याउन सकिन्छ भने नेपाल सरकारको सम्वृद्धिको अभियानमा आम नागरिकको साथ र समर्थन जुटाउन सजिलो हुनेछ । बदलिँदो परिवेस अुनसार यूवा पूस्तामा सञ्चारका आधुनिक साधनहरु पुगे पनि गाउँमा बसोबास गर्ने अधिकाँस नागरिकहरुको सूचना र सञ्चारको माध्यम भनेको रेडियो नै हो । रोशी गाउँपालिका लगायत ग्रामिण क्षेत्रका अधिकांश नागरिकहरु रेडियोको माध्यमबाट विभिन्न ज्ञान, सूचना र चेतना अनि मनोरञ्जनात्मक कार्यक्रम सुनेर आफूलाई समय अनुकुल अद्यावधिक गर्ने गर्छन । राष्ट्रको चौथो अंगको रुपमा स्थापित सञ्चार क्षेत्रले आम नागरिक सामू सूचना प्रदान गर्ने मात्र नभई सामाजिक जागरण गरेर सामाजिक रुपान्तरणमा उल्लेख्य भूमिका निर्वाह गर्दछ र सोही अनुसार रेडियो रोशीले गरिरहेको पनि छ । राज्य सञ्चालनको अधिकार जनताको घर दैलो स्थानीय तहमा आएको हुँदा स्थानीय तह लाई प्राप्त अधिकार र जिम्मेवारी पारदर्शी र जवाफदेही ढंगले निर्वाह गर्न स्थानीय सरकारले सञ्चार जगतलाई प्राथमिकता दिनु जरुरी देखिन्छ ।