काभ्रे,
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ डाँडाकटेरी “सुरक्षित खानेपानी युक्त समुदाय” घोषणा भएको छ । युनिसेफको सहयोग, सिविक फोरमको साझोदारी र नगरपालिकाको समन्वयमा समुदायका ३५ घरधुरीमै सफा र गुणस्तरीय पिउने पानी पुगेसँगै आज नगर प्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यता एव्म युनिसेफका उपकार्यकारी निर्देशक टेड चाइवानको विशिष्ट आतिथ्यतामा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । घोषणा भएसँगै डाँडाकटेरी नमोवुद्ध नगरपालिकाको पहिलो सुरक्षित खानेपानीयुक्त समुदाय बनेको छ ।

कार्यक्रममा नगरप्रमुख लामाले खानेपानी आयोजनाको गुणस्तरीयतालाई कायम गर्ने जिम्मेवारी अब स्थानीयकै काँधमा आएको भन्दै सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो । नगरपालिकाले सुरु गरेको एक घर, एक धारा अभियानमा गत असोजको बाढी पहिरोले अवरोध गरेकोमा पुनःनिर्माण गर्दै घरघरमा खानेपानी पुर्याउन गरेको साझेदारीप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नमोवुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, युनिसेफका प्रतिनिधिहरु, वडा नम्बर ११ का वडा अध्यक्ष कृष्ण बहादुर तामाङ लगायतको उपस्थिती रहेको थियो ।