रोशी,अमलटार– काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ८ खार्पाचोककामा सञ्चालित १८ वटा कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको खानेपानी ड्रम बितरण बितरण गरिएको छ । आज रोशी गाउँपालिका वडा नं. ८ खार्पाचोकको आयोजना तथा गाउँपालिकाको समन्वयमा ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’ अन्तर्गत कृषक समुहलाई १ लाख ८५ हजार रुपैया बराबरको हजार लिटर क्षमताको खानेपानी ड्रम बितरण गरिएको हो ।

बाढीपहिरोका कारण स्थानीय खानेपानीका मुहान, पाइपलाइन र आपूर्ति प्रणालीमा क्षति पुगी खानेपानीको समस्या भएपछि प्रभावित कृषक परिवारलाई सुरक्षित पिउने पानी भण्डारण र व्यवस्थापनको लागि सहयोग पु¥याउने उदेश्यले खानेपानी ड्रम बितरण गरिएको हो ।
काभ्रे जिल्लाका ४ स्थानीय तहहरुमा ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’ सञ्चालनमा रहेको छ । जसमा पाँचखाल नगरपालिका, बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिका र रोशी गाउँपालिका रहेका छन् । रोशी गाउँपालिकाको वडा नं. ८ खार्पाचोकमा २०५५ सालबाट यो कार्यक्रम सञ्चालनमा रहेको छ ।
गरिबसँग विश्वेश्वर कार्यक्रम नेपाल सरकार (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय) द्वारा सञ्चालित एक प्रमुख गरिबी निवारण र सामाजिक–आर्थिक सशक्तीकरणको कार्यक्रम हो। जननिर्वाचित पहिलो प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला) को समाजवादको अवधारणा र विपन्न वर्गको जीवनस्तर उकास्ने दृष्टिकोणलाई साकार पार्न यो कार्यक्रम सुरु गरिएको थियो ।




