रोशी सहकर्मी–माघ ५,
२०७६,सिन्धुपाल्चोक/

बाटो विस्तार गर्ने क्रममा स्थानियबाट अवरोध सिर्जना गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले जारी गरेको आदेशअनुसार चारकिल्ला भित्र हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस भेला हुन नपाउने उल्लेख गरिएको छ ।
आइतबार विहान ८ बजे देखि बेलुका ५ बजे सम्म अर्को व्यवस्था नभएसम्मका लागि पूर्वको बाह्रबिसे बजारबाट ३०० मिटर पूर्व, पश्चिममा भोटेकोशी खोला पुल, उत्तरमा इलाका प्रहरी कार्यालय बाह्रबिसे ४ र दक्षिणमा बाह्रबिसे बजारबाट पिस्कर जाने बाटोको सुनकोशी चोकको बीचसम्म रहेको छ । प्रमुख जिल्ला अधिकारी चेम्जोङ्गले सुरक्षालाई सुक्ष्म विश्लेषण गर्दा निषेधाज्ञा जारी गर्नैपर्ने अवस्था देखिएकाले गरिएको जानकारी गराइन् ।
स्थानीयले भने बाटो विस्तारको नाममा समन्वय समेत नगरी नगरपालिकाले जबरजस्ती गरेको बताएका छन् । तर बाह्रबिसेका मेयर निमफुन्जो शेर्पाले बाटो विस्तारका क्रममा नालीमाथि बनाइएका टहरा भत्काउन खोज्दा विकास विरोधीले हर्कत देखाएको बताए । शुक्रबार बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काएपछि स्थानीयहरु विरोधमा उत्रिएका हुन् ।

Facebook Comments