रोशी सहकर्मी–माघ ५,
२०७६,काभ्रे/

सडकमा दिनहुँजसो जाम हुँदा यात्रुहरु मर्कामा पर्ने गरेका छन् । झनै चाड पर्वको समयमा त सडक साँघुरो भएकै कारण यात्रुहरु गन्तव्यमा पुग्न हम्मे हम्मे हुने गरेको छ । यसै समस्यालाई मध्यनजर गर्दै बिपी राजमार्ग निर्माण सम्पन्न भएको पाँच बर्षपछि पुनः विस्तार हुने भएको छ । सडकमा सवारीको चाप बढेसँगै यातायात सञ्चालनमा कठिनाई भएको निष्कर्ष निकाल्दै सरकारले दुई लेनको हुने गरी विस्तार गर्न लागेको हो । धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका प्रमुख सूर्य भाटले सडक विस्तारका सम्भावनाका बारेमा सर्वेक्षण आगामी फागुनदेखि शुरु गरिने बताएका छन् ।
प्रतिकिलोमिटर ३२ करोड लाग्ने अनुमान गरिएको बताउदै प्रमुख भाटले निर्माण शुरु भएमा ५÷६ वर्षमा सडक विस्तारको काम सम्पन्न हुने बताए । सडक निर्माण गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले अहिले विस्तारमा पनि रुचि देखाएको छ । प्रमुख भाटका अनुसार खर्कोट–नेपालथोक सडक विस्तार गर्न भने समस्या रहेको बताउदै विकल्पको रुपमा निर्माणाधिक मध्य पहाडी लोकमार्ग प्रयोग गर्ने गरी योजना बनाइएको बताए । बिपी राजमार्ग दुई लेन बनेको अवस्थामा राजधानी काठमाडौं र तराईबाट निर्माण सामार्गी, खाद्य सामार्गी ढुवानी गर्न काभ्रे तथा आसपासका जिल्लाहरुलाई सहज हुनेछ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिपी राजमार्गमा दैनिक १४ हजार सवारीसाधन गुडने गरेको छ । यातायात व्यवस्था विभागले ३२ सिटभन्दा ठूला क्षमताका सवारीसाधनलाई गुड्न अनुमति दिएको छैन् ।

Facebook Comments