रोशी सहकर्मी–चैत्र २३,
२०७६,काभ्रे/

आजबाट धुलिखेल अस्पतालमा कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा सुरु गरिएको छ । आज ११ जनाको परीक्षण गरिएको अस्पतालले जनाएको छ । हरेक आइतबार र बुधबार कोरोना भाइरसको स्वाव परीक्षण हुने अस्पतालले जनाएको छ ।
आज परीक्षण गरिएको रिपोर्ट भने सोमबार मात्र आउने अस्पतालका डा सुमन ताम्राकारले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्र झाले वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिका मार्फत रु २० लाख उपलब्ध गराएको जानकारी दिनुभयो । “सङ्क्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने गरी पहिलो चरणमा हप्तामा दुई दिन कोरोना भाइरसको परीक्षण सुरु गरेका छौँ” झाले थप्नुभयो, “आवश्यकताका आधारमा थप गर्दै लैजाने छौँ “।

झाका अनुसार धुलिखेल अस्पतामा कोरोना सङ्क्रमणको परीक्षण शुरु भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका केही नागरिकलाई सहज हुनेछ । यसअघि राजधानी तथा आसपासका जिल्लाका नागरिकको काठमाडौंको टेकूस्थित शुक्रराज सरुवा रोग अस्पतालमा परीक्षण गरिँदै आइएको थियो ।

Facebook Comments Box