रोशी सहकर्मी–बैशाख २२,
२०७७,सिन्धुपाल्चोक/

पर्यटकीय क्षेत्र हेलम्बुमा ३ सय ७० मिटर लम्बाइको झोलुंगे पुल बन्ने भएको छ । पुल निर्माणका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरी निर्माण प्रक्रिया अघि बढाएको जनाएको छ । मेलम्ची खोलामाथि हजार फिट अर्थात करिव १ सय ८० मिटर उचाइमा बन्ने उक्त पुल मान्छेको आउजाउ मात्र होइन पर्यटनका लागि पनि आकर्षित हुने स्थानीयको भनाइ छ ।

मेलम्ची खानेपानीको मुहानभन्दा माथि सर्कथली भन्ने स्थानबाट तल्लो भागमा पर्ने उक्त पुल निर्माणका लागि करिव ३ करोड ५० लाख खर्च हुने अनुमान छ । हेलम्बु गाउँपालिकाका सब इन्जिनियर शेरबहादुर राइका अनुसार पुलको डिपिआर गाउँपालिका र पुलका अनुभबि डाक्टर नरेन्द्रलाल जोशिले तयार पार्नुभएको हो ।

गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार उक्त पुल नेपालकै लामो र उच्च स्थानमा रहेको पुलहरु मध्येको एक हुने छ । यति लामो पुलको स्टमेन्ट गर्न प्राविधिकले आनकानी गरेपछि विशेषज्ञको सहयोग लिएको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments