रोशी सहकर्मी–चैत्र २४,
२०७६,रामेछाप/

नक्कली बिरामी बनाएर यात्रु ओसार्ने एउटा एम्बुलेन्सलाई रामेछाप प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका–६ फर्पूको एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट ६ जना यात्रु लिएर आएको सो एम्बुलेन्ससहित चालकलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदेश नम्बर–३ ०–२२–०१ च २१६३ नम्बरको एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

रामेछाप प्रवेश गर्ने क्रममा मन्थली नगरपालिकाको सेलघाटमा सो एम्बुलेन्सलाई प्रहरीले शंका लागि जाँच गरेको थियो ।

नक्कली बिरामीसहितको एम्बुलेन्स मन्थली छिर्न लागेको जानकारी सेलघाट प्रहरीले दिएपछि जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले एम्बुलेन्स र एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।

पाठकका अनुसार एम्बुलेन्स चालक बुद्ध तामाङ र एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय रामेछापमा राखि अनुसन्धान भइरहेको छ ।

Facebook Comments