रोशी सहकर्मी–चैत्र २५,
२०७६,काभ्रे/

काभ्रेको धुलिखेलमा कोरोना भाईरसको पहिलो दिन १७ जनाको स्वाव संकलन गरिएकोमा सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको छ । अस्पतालमा पहिलोपटक भएको कोरोना भाइरसको परीक्षणमा १७ जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए ।
डा. झाका अनुसार अस्पतालको आइसोलेसनमा आइतबार छ र सोमबार ११ जनालाई राखिएको थियो । कोरोना भाइरस परीक्षण गरिएकाको नाम, वतन भने गोप्य राखिएको छ ।

अस्पतालमा कोरोना भाइरससँग मेलखाने लक्षण देखिएका कारण आइसोलेसनमा राखिएका उनीहरुको सोमबार धुलिखेल अस्पतालमा ‘स्वाब’ परीक्षण गरिएको थियो ।

पेटको समस्या भएपछि धुलिखेल अस्पताल भर्ना भएकी पनौती नगरपालिका –१२ कोलाँतीस्थित मगरगाउँको ४८ वर्षीया मधुमाया तामाङको उपचारका क्रममा मृत्यु भएपछि कोरोना भाइरस आशङ्कामा एकै गाउँका एक बालकसहित १० जनालाई क्वारेन्टाइनमा राखिएको थियो । कोरोना परीक्षण गरिएकामध्ये उनीहरु पनि हुन् ।

उनीहरुलाई सोमबार साँझ घर पठाइएको छ । तामाङको एक छोरी यही चैत ३ गते मात्रै विदेशबाट नेपाल आएको बताइएको छ । मृतक तामाङको मृत्युको रिपोर्ट आइनसकेको झाले बताउनुभयो ।

पहिलो चरणमा साताको दुई दिन मात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ । वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि रु २० लाख उपलब्ध गराएपछि सोमबारदेखि धुलिखेल अस्पतालले परीक्षण शुरु गरेको हो ।

कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने आशङ्कामा काभ्रेपलाञ्चोकमा विदेशबाट आएका एकलाई मण्डनदेउपुर नगरपालिकास्थित क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट घर फर्किएर मण्डनदेउपुर नपास्थित क्वारेन्टाइनमा बसेका आठमध्ये हाल एक बाँकी रहेको डा.झाले बताए ।

Facebook Comments