रोशी सहकर्मी–बैशाख १७,
२०७७,काभ्रे/

जिल्लाको तेमाल गाउँपालिकाले नागरिकको घर घर मै पुगेर गरेको स्वास्थ्य परीक्षण प्रभावकारी भएको पाईएको छ । बैशाख १५ गतेबाट गाउँपालिकाले प्रत्येक नागरिकको घरघर मै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गरिरहेको गाउँपालिकाले जनाएको छ ।

तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले उपत्यका लगायत अन्य जिल्लाबाट आएका नागरिकका कारण कोरोना त्रास बढेपछि पालिका भित्रका सबै नागरिकको निःशुल्क परीक्षण सुरु गरिएको जानकारी दिए । गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले २६ हजार नागरिकको घरघरमा स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परीक्षण गर्ने जानकारी दिए ।

तेमाल गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख शिवहरी पाठकले २० स्वास्थ्यकर्मी स्वास्थ्य परीक्षणका लागि खटिएको जानकारी दिए । “नौ वटै वडामा हामीले स्वास्थ्यकर्मी खटाएका छौँ”, उनले भने, “कोरोना लक्षण देखिएमा तत्काल उपचारका लागि पठाउने छौँ ।” उनले नेपाल सरकारले दिएका ३९ प्रकारका निःशुल्क औषधी र गाउँपालिकाबाट थप गरिएका १० एन्टिभाइटिक औषधी निःशुल्क वितरण गरिएको छ । उनले एक हप्ता सम्ममा सबै नागरिकको परीक्षण सकिने जानकारी दिए । आज सम्म तीन हजार जनाको परीक्षण सकिएको उनको भनाई छ ।

स्वास्थ्य जाँच मात्र नभई रोगको प्रकृति अनुसार सरकारले प्रदान गर्ने निःशुल्क औषधी समेत उपलब्ध गराउने साथै स्वास्थ्य कर्मीले ज्वरो, रुघाखोकीको अवस्था हेरेर होम क्वारेन्टाइन वा अस्पताल पठाउनेसम्मको निर्णय गर्ने छन् ।

Facebook Comments Box