रोशी सहकर्मी–बैशाख २८,
२०७७,काभ्रे/

नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखामा समुन्द्रलाल श्रेष्ठको संयोजकत्वमा तर्दथ समिति गठन भएको छ । गत माघ २२ गते निर्वाचनका लागि मनोनय दर्ता भएको भएपनि निर्वाचन हुन नसकेपछि नेतृत्व विहिन भएको रेडक्रस काभ्रेले निकास पाएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिले श्रेष्ठको संयोजकत्वमा १५ सदस्य तर्दथ समिति गठन गरेको हो ।

केन्द्रीय रेडक्रसको बैशाख १९ गते बसेको बैठकले काभ्रे शाखामा समुन्द्रलाल श्रेष्ठको संयोजकत्वमा तर्दथ समिति गठन गरेको पत्र पठाएको छ । जसको सचिवमा पुष्पा बस्नेत, कोषाध्यक्षमा महेश्वर जंगम रहेका छन । त्यस्तै सदस्यमा रघुनाथ हुमागाई, अन्नतकृष्ण श्रेष्ठ, उद्धवप्रसाद पौडेल, विदुर घिमिरे, शंखबुद्ध लामा, विष्णुमणि नेपाल रहेका छन । त्यसैगरी सदस्य मै राजु सिग्देल, निर्मला श्रेष्ठ, शिवराम आचार्य, मुकुन्द अर्याल, रामप्रसाद कोइराला र कमल घिमिरे रहेका छन ।

गत माघ २५ गते दोस्रो पटक विधान अनुरुप मिति तोकिएको निर्वाचन जिल्ला प्रशासन कार्यालय धुलिखेलको पत्र सँगै स्थगित भएको थियो । नेपाल रेडक्रस सोसाइटी काभ्रेका पदाधिकारी तथा सदस्यहरुले मासिक रुपमा बुझेको भत्तामा १५ प्रतिशत भ्याट रकम तिर्नु पर्नेमा एक प्रतिशत मात्रै तिरेपछि अख्तियारको निर्देशनमा प्रशासनले निर्वाचन रोकेको थियो ।

पदाधिकारीले मासिक रुपमा बुझ्ने भत्तामा एक प्रतिशत मात्रै कर तिरेपछि राजस्व छलि भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उजुरीकै आधारमा रेडक्रसका पदाधिकारीहरुले आफूले खाएको भत्ताको १४ प्रतिशत कर तिरेका थिए । मासिक रुपमा सभापति रघुवरचौ प्रधानले नौ हजार र पदाधिकारीले छ हजार चार सय ८० रुपैंया बुझने गरेका थिए । सो रकममा करयोग्य रकम छलेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

उजुरीपछि जिल्ला सभापति रघुवर चौप्रधानले ७८ हजार ५ सय ६२ र पदाधिकारीहरुले प्रतिव्यक्ति ५६ हजार ५ सय ६८ का दरले भूक्तानी गरेका थिए । लगत्तै माघ २५ गते तोकिएको निर्वाचन अख्तियारको मुद्धा नटुग्गिएको भन्दै जिल्ला प्रशासन कार्यालयले रोक लगाएको थियो । अख्यितारको मुद्धा टुङ्गिएपछि पुनः फागुन ३० गते बसेको केन्द्रीय समितिको बैठकले काभे्र रेडक्रसलाई निर्वाचनमा जान बैधानिक रुपमा बाटो खुल्ला गरेको थियो । चैत १५ भित्रमा निर्वाचन गर्ने तयारी भएपनि कोरोना भाइरसका कारण निर्वाचन हुन नसकेपछि काभ्रे रेडक्रस नेतृत्व विहिन भएको थियो ।

Facebook Comments