रोशी सहकर्मी–बैशाख ३०,
२०७७,धुलिखेल/

कोरोना भाइरसको थ्रोट स्वाब परीक्षण ‘पोलिमेरीज चेन रियाक्सन’ (पिसिआर) बिधिबाट परीक्षणका लागि धुलिखेल सामुदायिक अस्पताललाई दुई हजार किट आइपुगेको छ । नेपाल सरकारले आइतबार दुई हजार किट पठाएको अस्पतालले जनाएको छ । किट अभावमा क्षमता अनुसार परीक्षण समेत गर्न नसकेको अस्पतालले आज मात्र ३१५ जनाको कोरोना परीक्षण गरेको छ ।

आइतबार सम्म ५८९ जनाको मात्र पिसिआर विधिबाट परीक्षण भएकोमा आज थप ३१५ जनाको परीक्षण पश्चात ९०४ जनाको धुलिखेल अस्पतालबाट परीक्षण भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एव्म जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव नरेन्द्रकुमार झाले जानकारी दिए ।

धुलिखेल अस्पतालका कोरोना परीक्षण ल्याब विभागका सूचना अधिकारी डा. सुमनराज ताम्राकारले किट आएसँग परीक्षण सूचारु गरिएको जानकारी दिनुभयो । मुलुकभरबाट कोरोना परीक्षणका लागि टेकु अस्पताल आएका स्वावको परीक्षणका लागि धुलिखेल अस्पताल पठाउने गरिएको छ ।

टेकुपछिको धेरै कोरोना परीक्षण धुलिखेल अस्पतालमा हुँदै आएको छ । अहिले सम्म काभ्रेका ६९ जनाको पीसीआर विधिबाट परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालमा चैत २३ गतेबाट कोरोना परीक्षण हुँदै आएको छ ।

Facebook Comments