रोशी सहकर्मी– बनेपा कार्तिक ०८,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपाको एकताले मात्र मुलुकको विकास सम्भव रहेको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी काभे्रले विभिन्न चाडपर्वको अवसरमा शुक्रबार बनेपामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन ।
“अहिले हामीलाई मुलुक बनाउने जिम्मेवारी आएको छ, अरुले बनाउन सक्दैन भन्ने प्रमाणित पनि भएको छ । त्यसैले नेकपा पार्टीका कार्यकर्तालाई योग्यता, क्षमताको आधारमा मूल्याङ्कन गर्न सक्यौ र पार्टीलाई विधिको आधारमा सञ्चालन गर्न सक्यौ भने यो पार्टीलाई अन्य चुनावमा पनि कसैले हराउन सक्दैन” , उनले बताए । “बल्ल पहिलो चोटी झन्डै दुई तिहाइको सरकार बनाएर काम गर्ने मौका पाएका छौँ, यसलाई चुक्न दिनुहुँदैन” । उनले अब आउनी दिनमा पार्टी र सरकारमा भएका विगतका कमी कमजोरी सुधार गरेर, राम्रा कामलाई जोगाएर, जनताका कुरा सुनेर, ध्यान दिएर अगाडि बढ्न जरुरी भएको बताए । “हामीले अचम्मको काम गर्न सक्छौँ, मिराकल गर्न सक्छौँ, अरुले कल्पनै नगरेको काम गरेर देखाउन पनि सक्छौ । तर यसका निम्ती पार्टी एकता आवश्यक छ ।”
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री एव्म नेपाल कम्युनिष्ट पार्टी काभे्रका इन्चार्ज गोकुलप्रसाद बाँस्कोटाले नेकपाले चुनावमा जनतालाई कबुल गरे अनुसारको काम सरकारबाट भइरहेको बताए । कार्यक्रममा नेकपा प्रदेश न ३ कमिटीका अध्यक्ष नारायण दाहालले पार्टी एकताले कार्यकर्तामा उत्साह जगाएको बताउँदै सरकारले गरेका काम अब गाउँतहसम्म लैजान सक्नुपर्नेमा जोड्दिए । कार्यक्रममा नेकपा काभे्रका जिल्ला कमिटी अध्यक्ष रुकु चौँलागाई, सचिव टोकबहादुर वाइवा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comments