
यश कुमार परियार–असार ३,
२०७७,काभ्रे/
जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर ६ ठूलोपर्सेलका ९० जना दिर्घरोगीहरूले निशुल्क औषधी पाएका छन् । आर्थिक बर्ष २०७६/०७७ को जेष्ठ नागरिक स्वास्थ्य परिक्षण तथा आमा सुरक्षा कार्यक्रम अन्तर्गत जेठ २९ गते देखि ३२ गते सम्म संचालन गरिएको वितरण अभियान अन्तर्गत १ महिनाको निमित्त पुग्ने औषधी निशुल्क वितरण गरिएको वडा अध्यक्ष विकुलाल तामाङले जानकारी दिए ।

वडा अध्यक्ष तामाङका अनुसार वडा भित्रका ९० जना दिर्घरोगीहरूलाई श्री महाँकाल आधारभुत मावि पकुवाल, नवनिर्मित वडा कार्यालय भवन भुमेथान, मोक्तान टोल, वडा कार्यालय भबन पुर्खङडाँडा, ठूलोपर्सेल बसपर्क, पन्चा कन्या मा बि पधेराटोल, पन्चा कन्या मन्दिर राटमाटे, महिला भवन मगरछाप, माथिल्लो छाप र सिङ्गटीबाट १ महिना सम्म पुग्ने औषधी वितरण गरिएको हो ।

औषधीहरुमा सुगर, प्रेसर, दम, थाइरईट, मुटुरोग लगायत बिभिन्न रोगको औषधी वडा नम्बर ६ ठूलोपर्सेलले बितरण गरिएको वडा अध्यक्ष तामाङले जानकारी दिए । औषधी खरिदको लागि वडाबाट ४८ हजार ४ सय १० रुपैँया खर्च भएको उनले जानकारी दिए ।
यस अघि वडाले सोहि अभियान अन्तर्गत वडाभित्रका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण र १६ जना गर्भवती महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण गरिसकिएको छ ।