रोशी सहकर्मी–असोज २३,
२०७७,काभ्रे/

कर्मचारीमा कोरोना देखिन थालेपछि धमाधम कार्यालय बन्द हुन थालेका छन । शुक्रबारसम्म जिल्लाका चार कार्यालयबाट सेवा बन्द भइसकेका छ । मालपोत कार्यालय तथा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले शुक्रबारबाट आफ्नो सेवा बन्द गरेका छन् । मालपोत र स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गर्दै कार्यालयबाट प्रदान गर्दै आएको सेवाहरु बन्द गरेको जनाएका छन् ।

सेवाग्राहीको बढी भीडभाड हुने मालपोत कार्यालयले कार्यालयमा कार्यरत तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । कार्यालयले संक्रमित कर्मचारीसँग प्रत्यक्ष सम्पर्कमा रहेका कर्मचारीहरु समेत क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले जनशक्ति अभाव हुने भएको र थप संक्रमणको जोखिम हुन सक्ने अवस्थाको मूल्याङकन गरी शुक्रबारदेखि असोज ३० गतेसम्म कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु बन्द गरेको जनाएको छ ।

यसैगरी जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले पनि कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र सम्पर्कमा रहेका कर्मचारी समेत क्वारेन्टाइन बस्नुपर्ने भएकोले कार्यालयको सेवाहरु बन्द गरिएको जनाएको छ । स्वास्थ्य कार्यालयले शुक्रबारबाट अर्को सूचना जारी नभएसम्मका लागि आन्तरिक बाहेकका सबै सेवाहरु बन्द गरेको हो ।

यसअघि बिहिबार जिल्ला कै मण्डनदेउपुर नगरपालिकाले पनि नगरका केही सामाजिक व्यक्ति र उनका परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमणको जोखिम बढ्न नदिनका लागि नगरपालिकाका सबै सेवा बन्द गरेको थियो । मण्डनदेउपुर नगरपालिकाले नगरपालिका, वडा कार्यालयका साथै सबै सरकारी तथा गैह्र सरकारी कार्यालयको काम र विद्यालय समेत बन्द गरेको थियो । जिल्ला कै रोशी गाउँपालिकाले समेत अत्यावश्यक र विद्युतीय माध्यमबाट प्रदान गरिने बाहेकका सबै सेवा बन्द गरेको थियो ।

Facebook Comments