बढि भाडा लिने ७ वटा बसलाई कारवाहि

यश कुमार परियार–कार्त्तिक ४,
२०७७,काभ्रे/
चाडपर्व नजिकिँदै गर्दा सुरक्षाका विषय देखि उपभोक्ता ठगिने सम्मका चुनौतीहरु थपिने गर्छन् । कोरोना भाईरस अर्थात कोभिड–१९ का कारण बजारहरुमा पहिलेको वर्षमा झैँ चहलपहल नभएता पनि जोखिम भने बढेको छ । जिल्ला ट्राफिक कार्यलय काभ्रेले नजिकिँदै गरेको दशैँ र तिहारमा हुने आपराधिक क्रियाकलाप देखि अन्य कुराहरुलाई मध्येनजर गरी सुरक्षाका योजना बनाएको छ । अरनिको र बीपी राजमार्ग रहेको काभ्रेमा प्रहरीले राजमार्ग लक्षित गरेर आठ स्थानमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौडे्लले धुलिखेल चेकपोष्ट, मंगलटार चेकपोष्ट, बनेपा टिकट काउन्टर, पनौती बसपार्क, पाँचखाल चेकपोष्ट, भकुण्डेबेशी चेक पोष्ट, साँगा बनेपा प्रहरी चेकप्वाईन्ट र काभ्रेभञ्ज्याङ चेकप्वाईन्टमा स्थापना गरिएको जानकारी दिए । चाडपर्वमा यात्रुहरुसँग तोके भन्दा बढी भाडा लिने, सवारी साधनले यात्रुलाई बीच बाटो मै अलपत्र छाड्ने, चोरी, लुटपाट, डैकती लगायत अन्य अपराधिक घट्ना हुनबाट रोक्न नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको पौडेलले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेका प्रमुख विशाल तामाङले गएको ३ दिनमा यात्रुहरुसँग बढि भाडा असुल्ने ७ वटा बसलाई कारबाहि गरिएको बताए । यात्रुहरुले सार्वजनिक सवारी साधनले तोकेभन्दा पचास प्रतिशत बढी भाडा लिएको गुनासो गरेपछि जिल्ला ट्राफिक प्रहरीले बढी भाडा लिएका सवारी साधनबाट यात्रुलाई पैसा फिर्ता गर्न लगाएको हो ।
केहि समय अघि सरकारले ५० प्रतिशत भाडा बढाएको भएपनि कार्तिक १ गतेबाट पचास प्रतिशत भाडा लिन पाउने प्रावधान हटाएर साविककै भाडा लिनुपर्ने सरकारले निर्णय गरेको थियो । तर यातायात व्यवसायीहरुले पचास प्रतिशत बढी भाडा लिएको गुनासो आएपछि सवारी चेकजाँचलाई कडाई गरेको प्रमुख तामाङले बताएका छन् ।
उनका अनुसार जिल्लाका ८ वटा चेक पोष्टबाट बिहान ८ देखि ११ बजेसम्म, दिउँसो ३ देखि ८ बजेसम्म र राती चेकिङ जारी रहने छ । यस सँग सँगै काभ्रेमा ट्राफिक प्रहरीले चालक सँग १ मिनेट कार्यक्रमलाई पनि निरन्तर्ता दिईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेका प्रमुख विशाल तामाङले जानकारी दिए ।