यश कुमार परियार–कार्त्तिक ४,
२०७७,काभ्रे/

सरकारले कार्तिक २ गतेदेखि कारोना भाईरसबाट संक्रमित आफैले उपचार खर्च बेहोर्नुपर्ने प्रावधान ल्याएपछि कोरोना संक्रमितहरुलाई उपचार गर्दै आएका अस्पतालहरुले धमाधम खर्च निर्धारण गरिरहेका छन् । काभ्रे जिल्लाको धुलिखेल अस्पतालले पनि एक सुचना जारी गर्दै कोरोनाबाट संक्रमित भएकाहरुलाई दैनिक रुपमा लाग्ने उपचार खर्चको विवरण सार्वजनिक गरेको छ ।

अब कोरोना संक्रमितले धुलिखेल अस्पतालमा भर्ना हुनुभन्दा अगाडि नै अस्पतालको नगद शाखामा ५० हजार देखि २ लमख सम्म धरौटी रकम जम्मा गर्नुपर्ने सुचनामा उल्लेख छ । बिरामीको अवस्था अनुसार धरौटि रकम निर्धारण गरिएको छ । जस्तै सामान्य लक्षण भएका विरामीलाई वार्डमा राख्दा ५० हजार धरौटी राख्नु पर्नेछ भने मध्य जटिल विरामीलाई एचडियुमा राख्दा १ लाख धरौटी राख्नु पर्ने छ र जटिल खालका विरामीलाई आईसियुमा राख्दा २ लाख धरौटी राख्नुपर्ने छ ।

सुचनामा सामान्य लक्षण भएका विरामीलाई दैनिक ३ हजार ५ सय, मध्य जटिल विरामीलाई ७ हजार ५ सय र जटिल विरामीलाई १५ हजार लाग्ने उल्लेख छ । यसपछि पनि औषधी तथा रोग निदानमा प्रयोगमा हुने जाँचहरु, तथा भेन्टिलेटरको थप शुल्क लाग्ने छ ।

धुलिखेल अस्पतालले भने संक्रमितको उपचारमा लाग्ने शुल्क नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसारनै निर्धारण गरिएको जनाएको छ ।

Facebook Comments