फागुन ५,
२०७७,धुलिखेल/

परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले मुलुकलाई विकास र समृद्धिका लागि निर्वाचनमा जान सरकार बाध्य भएको बताएका छन । धुलिखेल नगरपालिकाको ३५ औं स्थापना दिवसमा आज सम्बोधन गर्दै मन्त्री ज्ञवालीले मुलुकलाई अस्थिरताबाट जोगाउन निर्वाचन घोषणा गरिएको बताए ।
उनले नेकपाका केही नेताहरुले अहिले पाएको जनादेशलाई भागबन्डा गरेर प्रधानमन्त्रीको कुर्सीलाई म्युजिकल चियर जस्तो बनाउने, प्रधानमन्त्रीको कुर्सीलाई आलोपालो मिलेर भागबन्डा गर्ने चाहनामा सिमित गर्न खोजेपछि जनताको मत के रहेछ त भनेर बुझन निर्वाचन घोषाणा गरेको बताए । नेकपाको केन्द्रीय सचिवालय, स्थायी समिति, संसदलाई झै–झगडा गर्ने माध्यम बनाइयो । त्यो सम्म त हामीले सामान्य रुपमा लिएका थियौ । तर उहाँहरु अध्यारो कोठामा बसेर प्रधानमन्त्री केपी ओली र राष्ट्रपति बिद्यादेबी भण्डारीलाई हटाउन चलखेल गरेर मुलुकलाई पुनः अस्थिरताका लागि जुन खालको सड्यन्त्र गर्न थाल्नुभयो त्यसले हामीलाई चुनावमा जान बाध्य बनायो ।
कार्यक्रममा पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाले देश निर्वाचनमा गएको बताउँदै निर्वाचनबाट आउने परिणाम आफूहरुलाई स्वीकार भएको बताए । उनले विकास र समृद्धि देख्न नसक्नेले प्रधानमन्त्रीको विरोध गरेको बताउँदै देशमा विकास चाहने की विखण्ड रोज्ने जनतालाई सुम्पिएका छौँ, भने । उनले लोकतन्त्रमा निर्वाचनको विकल्प हुन नसक्ने भन्दै निर्वाचनमा जान्छु भन्दा प्रतिगमन हुन्छ भने त्यो पाखण्डी लोकतन्त्र आफूलाई नचाहिएको बताए ।
कार्यक्रममा नेपाल सरकारका सचिव गोपीनाथ मैनाली, धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोककुमार व्याञ्जू, बालमैत्री स्थानीय शासन राष्ट्रिय सञ्जालका अध्यक्ष तिलोत्तम पौडेल, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा चौँलागाई, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी, रोटरी क्वल अफ धुलिखेलका अध्यक्ष शुसील व्याञ्जू लगायतले मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा धुलिखेल नगरपालिकालाई काभ्रे कै पहिलो बालमैत्री नगर घोषणा गरिएको थियो ।

Facebook Comments Box