फागुन १०,
२०७७,काभ्रे

खनालथोक (नमोबुद्ध)– नमोबुद्ध नगरपालिका वडा नं ७ को वडा कार्यालय भवन निर्माणको काम सुरु भएको छ । कार्यालय भवन निर्माणका लागि सोमबार एक कार्यक्रमका बीच शिलान्यास भएको छ । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता तथा उपप्रमुख रामदेवी तामाङको विशेष आतिथ्यतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो ।

वडा नं. ७ का वडाअध्यक्ष धर्मसिं लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर प्रमुख टि.पी शर्मा तिमल्सिनाले भूमिपूजन तथा कार्यालय भवनको शिलान्यास गर्र्दै निर्माण कार्यको सुरुवात गरेका थिए । कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले गाउँगाउँमा सिंहदरबार भन्ने नारालाई व्यवहारर्म उतार्न सबै वडाको आफ्नै सुविधासम्पन्न भवन निर्माणको काम तीब्ररुपमा अघि बढाइएको बताए । यसअघि तीनवटा वडा कार्यालय भवन निर्माण थालिएकोमा निर्माण सम्पन्न भइसकेको तथा अन्य तीनवटा कार्यालय भवन निर्माण सुरु भइसकेको उनले जानकारी दिए । यही बर्ष वडा नं. २, ७, ८, ९ र १० को कार्यालय भवन निर्माणको काम सम्पन्न हुने तथा वडा नं. १ र ५ को कार्यालय भवन निर्माणका लागि प्रक्रिया सुरु गरिसकिएको तिमल्सिनाले बताए । नगरबासीलाई सहजरुपमा सेवा प्रदान गर्नका लागि सबै वडामा स्वास्थ्य संस्थाको भवन निर्माण गरिसकिएको उनले जानकारी दिए । तिमल्सिनाले ऐतिहासिक क्षेत्र दाप्चाको संरक्षण, सडक स्तरोन्नति र कालोपत्रे गर्ने काम जनप्रतिनिधि आएपछि सुरु भएको र यसले दाप्चा क्षेत्रको मुहार परिवर्तनमा उल्लेखनीय योगदान गर्ने बताए ।

कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले वडा कार्यालय भवन निर्माणको काम चाँडै सम्पन्न हुने विश्वास व्यक्त गर्दै भौतिक संरचना निर्माण गर्नेमात्र नभई त्यसको उचित प्रयोग र व्यवस्थापनमा जोड दिनुपर्ने बताइन् । नमोबुद्ध स्वदेशी तथा विदेशी पर्यटकको आकर्षकको केन्द्र बन्नसक्ने बताउँदै तामाङले राज्यले पर्यटन विकासमा विशेष जोड दिनुपर्ने बताइन् ।  कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सबै वडामा कार्यालय भवन निर्माण भइसकेपछि सेवा प्रवाह अझै प्रभावकारी हुने बताए । नगरबासीलाई सहजरुपमा सेवा प्रदान गर्ने उद्देश्यअनुसार आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको पौडेलको भनाई थियो ।

कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष धर्मसिं लामाले भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउँदै खनालथोक क्षेत्रमा पर्यटकीय गुरुयोजना बनाएर काम अघि बढाउनुपर्ने बताए । वडाभित्रका गोरेटोलाई सिढीमा परिवर्तन गर्दै लगिएको, रजबमपोखरी तथा भुपाले वनको गुरुयोजना तयार पारी काम अघि बढाइएको लामाले जानकारी दिए । वडा नं. ७ को कार्यालय रहेको स्थानसँगै २०४६ सालका शहिदको शालिकसहित शहिद पार्क निर्माणको योजना अघि बढाइएको लामाले बताए । कार्यक्रममा वडा नं. ९ का अध्यक्ष मेलवहादुर लामाले तोकिएको समयमै वडा कार्यालय भवन निर्माण सम्पन्न हुने अपेक्षा व्यक्त गरे । वडा सचिव श्रीधर खनालले सञ्चालन गरेको कार्यक्रममा पूर्वगाविस अध्यक्ष कृष्ण खनाल, कार्यपालिका सदस्य अप्सरा हुमागाईं लगायतले मन्तव्य राखेका थिए ।

नमोबुद्ध नगरपालिकाले यसै बर्ष निर्माण सम्पन्न गर्नेगरी पाँचवटा वडा कार्यालय भवन निर्माणको काम अघि बढाएको छ । यसअघि वडा नं. ८, ९ र १० को वडा कार्यालय निर्माणको शिलान्यास भई काम सुरु भइसकेको छ भने वडा नं. २ को कार्यालय निर्माण यसै साता सुरु हुनेछ । वडा नं. २ को भवन निर्माणका लागि सिद्धिविनायक निर्माण सेवासँग भ्याटबाहेक ४० लाख ८७ हजार ६ सय ८५ रुपैयाँमा ठेक्का सम्झौता भएको नगरपालिकाका इन्जिनियर उज्ज्वल अर्यालले जानकारी दिए । अर्यालका अनुसार नगरका ११ वटै वडामा एउटै डिजाइनको वडा कार्यालय निर्माण हुनेछ ।

Facebook Comments