चैत्र १२,
२०७७, भकुण्डेबेशी/

नमोबुद्ध नगरपालिकाले भत्काएको करिब डेढ बर्षपछि भकुण्डेमा ईट्टा उद्योग सञ्चालनमा आउन थालेका छन । नगरले २०७६ भदौ ८ र ९ गते क्रेन मार्फत भत्काएका ईट्टाका चिम्नी पुनः ठडिन लागेपछि नगरपालिकाले सर्वाेच्च अदालतमा विचराधीन मुद्धाको ख्याल गर्न व्यवसायीलाई आग्रह गरेको छ ।

आज (विहीबार) नगरपालिका सभा हलमा पत्रकार सम्मलेन गरेर नगरपालिकाले मुद्धाको किनारा नलाग्दै ईट्टा भट्टा सञ्चालनमा आउनु दुःख कुरा भएको बताएको छ । नगरप्रमुख टीपी शर्मा तिमल्सिनाले आफूले निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार नमोबुद्धलाई वातावरण मैत्री र स्वच्छ नगर बनाउने जुन उदघोष गरेको थिए । त्यही अनुसार काम अगाडि बढाएको बताउँदै यसको किनारा नलाग्दा सम्म आफू लागि रहने बताए ।

नमोबुद्ध नगरपालिका वडा न २ मा रहेको सत्य नारायण ईट्टा उद्योग फागुन २६ गतेबाट सञ्चालनमा आएको छ । नमोबुद्ध नगरपालिकाले नागरिकको स्वास्थ्यमा असर पारेको भन्दै २०७६ भदौ ८ र ९ गते नगरभित्र सञ्चालित आठ ईट्टा उद्योग भत्काएको थियो । ईट्टा उद्योग भत्काएपछि व्यवसायीले भदौ १० गते नगरलाई विपक्ष बनाएर सर्वाेच्च अदालतमा मुद्धा दर्ता गराएका थिए । सो मुद्धा अहिले पनि विचराधीन रहेको नगरले जनाएको छ ।
नगर विभिन्न अदालतमा विचराधीन मुद्धाको अन्तिम किनारा नहुँदासम्म वातावरण प्रदुषण हुने कार्य नगर्न नगराउन अनुरोध गरेको छ । नगरप्रमुख शर्माले छिट्टै कानूनी प्रक्रियामा नगरपालिकाले जाने बताए । ‘कार्यपालिका बैठक बसेर हामीले उक्त ईट्टा उद्योगलाई सचेत गराइसकेका छौँ। छिटै् नगरसभामा पनि उक्त बिषय छलफल गरेर कानूनी प्रक्रिया अगाडि बढाउछौँ’ नगर प्रमुख शर्माले भने ।

नगरले वातावरण र प्रविधिमैत्री उद्योग सञ्चालन गर्न उद्योगीलाई आग्रह गरेको भएपनि त्यसको सुनुवाई नभएको नगरप्रमुख शर्माले बताए । ‘हामी उद्योग विरोधी होइनौ तर आम नागरिकको स्वास्थ्यमा पर्ने असर रोक्न हामीले उक्त कदम चालेका हौँ’ । उनले नगरले भू–उपयोग नीति अनुसार कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्र छुट्याएर विकास गर्ने नीति लिएको बताए ।

Facebook Comments Box