बैशाख १३,
२०७८,काभ्रे/

जिल्ला प्रशासन कार्यालय काभ्रेले हप्तामा ३ दिनमात्र सेवा दिने भएको छ । कोरोना महामारी बढिरहेकाले भिडभाड हुने सरकारी कार्यालयमा संक्रमणको जोखिम बढी हुने भएकाले जिल्लाका ६ वटा नगरपालिकाका नागरिकलाई हप्तामा ३ दिन तालिका बनाएर सेवा प्रवाह गर्ने भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारका अनुसार यो निर्णय यहि १४ गते मंगलबार देखि लागु हुनेछ । आइतबार, मंगलबार र विहिबार धुलिखेल, पाँचखाल र पनौती नगरपालिकाका नागरिकहरुलाई सेवा प्रदान गरिने भएको छ । यस्तै बनेपा, नमोबुद्ध र मण्डन देउपुर नगरपालिकाका नागरिकहरुलाई सोमबार, बुधबार र शुक्रबार सेवा दिने तालिका सार्वजनिक गरिएको हो ।

गाउँपालिकाहरुको हकमा भने हरेक दिन सेवा प्रवाह गरिने सुनुवारले जानकारी दिए । मंगलबारदेखि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सेवा प्रवाह हुने उनले जानकारी दिए ।

Facebook Comments Box