जेठ १२
२०७८,काभ्रे
काभ्रेको महाभारत गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने ब्यक्तिलाई बैंकमा खाता खोल्न आग्रह गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हरि सिंह बिष्टले एक सूचना जारी गर्दै अनिवार्य रूपमा बैंक खाता खोल्न आग्रह गर्नुभएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता दिने ब्यवस्था मिलाउन गाउँपालिकालाई पत्र पठाएपछि पालिका यस्तो आग्रह गरेको हो । प्रमुख प्रशासकीय अधिकृत बिष्टका अनुसार यहि जेठ मसान्तभित्र सामाजिक सुरक्षा भत्ता पाउने सबैले बैंक खाता खोलिसक्नु पर्नेछ ।

पालिकाले वडा नम्बर ६ को बन्खुमा रहेको बैंकमा खाता खोल्न भनेको छ । खाता खोल्न आउँदा सक्कल नागरिकता, भत्ता पाउने कार्ड र ४ प्रति पासपोर्ट साईजको फोटो लैजानु पर्ने छ ।बैंकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा भौगोलिक हिसाबले टाढा टाढा रहेका वडाहरूका नागरिकलाई भने निकै समस्या हुने देखिएको छ । यसअघि सम्बन्धित वडाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको थियो । पालिकाले चालु आर्थिक वर्षको अन्तिम चौमासिकको सामाजिक सुरक्षा भत्ता बैंकबाटै वितरण गर्ने तयारी थालेको छ ।

Facebook Comments Box