काभ्रे,
नमोबुद्ध नगरपालिकाले रक्तचापको नियमित औषधि सेवन गर्ने विरामीहरुलाई निशुल्क औषधी वितरण शुरु गरेको छ । पहिलो चरण दाप्चास्थित नगर अस्पतालबाट रक्तचापको औषधी निशुल्क वितरण थालिएको स्वास्थ्य शाखा प्रमुख नवराज दाहालले जानकारी दिनुभयो । शुरुमा एम्लोडिपिन उपलव्ध हुने र मधुमेह लगायत अन्य औषधी समेत क्रमश वितरण हुने उहाँले जानकारी दिनुभयो । आफूले खाएको औषधीको आधिकारिकता खुल्ने डाक्टरको पूर्जीसहित उपस्थित हुनेलाई औषधी उपलव्ध हुनेछ । औषधी वितरण शुभारम्भ गर्दै नगर प्रमुख कुनसाङ लामाले जनताको हित र सुविधाको लागि आफू सधै प्रतिवद्ध रहेको भन्दै आफूले गरेका प्रतिवद्धता क्रमशः पुरा गर्दै लैजाने बताउनुभयो । उहाँले नगर अस्पतालमा स्तरोन्नति भएको दाप्चा स्वास्थ चौकिमा छिट्टै मेडिकल अफिसर (डाक्टर) को व्यवस्थापन गरेर एक्सरे लगायतका सेवा सुचारू गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नगरपालिकाले यसअघि सबै वडाका १ सय ७ स्थानबाट १८ बर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गरेको थियो । नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले फाल्गुन २८, २९ र ३० गते रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क गरेर एक बर्षसम्म निशुल्क औषधीको व्यवस्था मिलाएको छ । परिक्षणमा स्वास्थ्य समस्या देखिएकालाई नमोबुद्ध–४ स्थित मेथिनकोट अस्पतालबाट थप परिक्षण गरी एक बर्षसम्म औषधी समेत निशुल्क उपलव्ध गराउने नगरपालिकाको तयारी छ । यसअघि परिक्षण गर्दा ५ सय ९७ जनालाई रक्तचाप, १ सय ६० जनालाई मधुमेह, ५ सय २१ जनालाई मृगौलाको समस्या देखिएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्साल, स्वास्थ्य चौकी व्यवस्थापन व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नमोबुद्ध नगरपालिका वडा नम्बर ९ का अध्यक्ष वीरबहादुर लामा, स्वास्थ्य चौकी इन्चार्ज बलराम पौडेल लगायतले सेवा स्तरोन्नति गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।