काभ्रे,
उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको इजलासले रायमाझीलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश जारी गरेको हो । रायमाझीसँगै इन्द्रजित राई, टेकनारायण पाण्डे, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी , सन्देश शर्मा , गोविन्द चौधरी र सागर राईलाई थुनामै राख्ने आदेश दिएको हो ।
पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामुक्त गर्ने कि नगर्ने भन्ने विषयमा दुई जना न्यायाधीशबिच राय बाझेकाले यसबारे अर्को इजलासले निर्णय गर्ने प्रवक्ता भट्टराईले बताउनुभयो । यस्तै उच्च अदालतले पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख र भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख नगद धरौटीमा छोड्न आदेश दिएको छ । नक्कली भुटानी प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरी मुद्दा चलाएकोमा जिल्ला अदालत काठमाडौँले १७ जनालाई पुर्पक्षका लागि थुनामा र तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । जसविरुद्ध रायमाझी र खाँणसहितले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले आज फैसला गरेको हो ।